Translate

Thursday, August 28, 2025

पानीकै लागि मधेशका किसानहरुको खेतमा बास

 



रातभर पालो कुरेर बस्न बाध्य 

 उषा किरण पोखरेल----
सर्लाही,भदौ १२ गते ।   

   ‘पानीकै लागि खेतमा बास’ भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, सर्लाहीसहित तराई–मधेशका किसानहरूले अहिले भोगिरहेको नियति हो यो । 
  लामो खडेरीका कारण किसानले लगाएका धानबाली सुक्न थालेपछि खेतमा पानी लगाउनकै लागि उनीहरू रातभर पालो कुरेर बस्नुपर्ने बाध्यतामा छन् । आफूलाई चाहिने खटिया, पाल र झुलको सहारामा सुनसान खेतमा उनीहरू अहिले पालो लगाएरै रात काटिरहेका छन् । दिनमा भोल्टेज कम हुँदा पानी तान्न समस्या भएपछि उनीहरू रातमा पानी तानेर खेतमा लगाउन बाध्य भएका हुन् । राति खेतमा बस्दा एकजना बस्न नसक्ने, दुई जना बस्न ठाउँ नपुग्ने त्यसमा पनि सर्प र लामखुट्टेको डर रहने उनीहरू बताउँछन् ।
  ईश्वरपुर–७, का नारायण मैनाली  खेतमा रात बिताउन लागेको एक महिना बित्यो । उहाँ नित्य रातको समयमा खेतमा पानी लगाउँदै आउनुभएको छ । मैनालीको करिब तीन बिघा जमिनमा धान खेती गर्नुभएको छ । तर, पनि उहाँले लगाएको बाली सोचे अनुसारको भएको छैन । उहाँ भन्नुहुन्छ, ‘गडा (गह्रा) का धार (छेउ) मा पाल हालेर रातभर बस्न लागेको एक महिना भयो । तर पनि बाली सोचे अनुसारको भएको छैन । आकाशबाट पानी पर्दैन, लगाएको पानीले सबै जमिन भिज्दैन । राति पानी हाल्यो, बिहान सुकिहाल्छ । जसरी भए पनि बाली जोगाउनुपर्ने बाध्यता छ, बाली जोगिए पो हामी बाँच्ने हो, हैन र । बाली नै नभए कसरी बाँच्नु ।’ अहिले मैनालीको अधिकांश समय खेतमै बितिरहेको छ ।
  यसरी खेतमा पानी लगाउने मैनाली मात्र हुनुहुन्न । यहाँका सबै किसानको बाध्यता नै यही छ । सबै घरबाट एक/दुई जना खेतमा खटिया हालेर बस्नैपर्ने हुन्छ । आकाशे पानीको भरमा खेती हुने गरेको क्षेत्रका अधिकांश किसानको नियति यस्तै छ । सर्लाहीका किसान यस वर्षको धान यसरी नै पकाउनुपर्ने भन्ने चिन्तामा छन् । जिल्लामा यो वर्ष हाल संम सबै क्षेत्रमा मुुल फुुटने गरि पानी  नपर्दा अधिकांश स्थानमा सुक्खापन देखिन्छ । विशेष गरी आकाशे वर्षाको भरमा रहेका जिल्लाको उत्तरी भेगका बाली उजाडिएका छन् । दक्षिणी भेगमा सिँचाइ सुविधा रहेकाले खेतबारी केही हरियाली देखिए पनि उत्तरी भेगमा भने खेतीबारीका फाँट अझै बाँझो छन् । धानका बोट सुकेका छन् । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् ।
धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको बताउने किसान गोमा बर्तौला अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या रहेको बताउनुहुन्छ । बिगतको वर्षहरूमा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेका किसान अहिले तनावमा परेका हुन् । रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो हुने देखिरहेको उहाँले बताउनुभयो । आकाशे वर्षाको भरमा खेती हुने सलार्हीको ईश्वरपुर, हरिर्पुवा, हरिपुर, लालवन्दी नगरपालिकाको सबै क्षेत्र तथा हरिवन नगरपालिकाको उत्तरी भेग तथा पर्सा, ब्रमहपुरी, चन्द्रनगर गाउँपालिकाको सबै क्षेत्रमा किसानले लगाएको बाली आकाशे वर्षाको भरमा हुने गरेको छ । यस क्षेत्रको प्रमुख सिँचाइको स्रोत आकासे पानी हो ।
आकासे पानी नभएको बेला यस क्षेत्रका किसानले भूमिगत पानीको प्रयोग गरिरहेका छन् । यसरी भूमिगत पानीका लगाउँदा किसानको लागत बढ्नुको साथै हैरानीसमेत बढी हुने गरेको छ । विद्युतीय मोटर सिचाइ भएको ठाउँमा केही हदसम्म सहज र सस्तोमा किसानले पानी लगाउन सकिरहेका छन् भने विद्युतीय लाइन विस्तार नभएको ठाँउमा भने डिजेलको साहारामा पम्पसेटको माध्यमबाट पानी लगाउँदा किसानको लागत धेरै नै बढी हुने गरेको उनीहरू सुनाउँछन् । विद्युतीय लाइन गएको ठाउँमा समेत भोल्टेजको समस्याले गर्दा किसानले सहज रूपमा पानी लगाउन पाइरहेका छैनन् ।
यता, हरिपुर कृषि शाखाले भने पछिल्लो केही वर्षदेखि जिल्लामा कम पानी परिरेकाले किसानले छोटो समयमा पाक्ने खालको बाली लगाउन सुझाव दिन्छ । सर्लाहीका किसानले सोना मुसलिम, बासमती, राम बिलास, साबित्री, राम, कमोध, शुखा–१ शुखा–२ र शुखा–३ जातको बिउ प्राय लगाउने गरेका छन् । सर्लाहीमा करिब ४५ हजार हेक्टर क्षेत्रमा धान बाली हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांक छ ।
विद्युतीय मोटरको अत्यधिक प्रयोग,प्राधिकरणलाई लोड थेग्न मुस्किल । सर्लाहीमा सिँचाइका लागि विद्युतीय मोटरको अत्यधिक प्रयोग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणलाई लोड थेग्नै मुस्किल परेको छ । जिल्लामा नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलङ्गवा र बरहथवा गरी तीन वटै वितरण केन्द्रलाई अहिले अत्यधिक भार थपिँदा नियमित विद्युत् प्रवाह गर्न हम्मे हम्मे परेको हो । जिल्लाको लालबन्दी वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा १४ एमभिए लोड रहने गरेकोमा अहिले बढेर १८ देखि १९ एमभिएसम्म पुगेको छ । लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले बिजुलीको बढ्दो माग र लोड थेग्न ठाउँ ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरिएको बताउनुभयो । लालबन्दी वितरण केन्द्रका प्रमुख यादवले विस्तारै समस्या समाधान हुँदै गएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो पछिल्लो समय ठाउँ ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि क्रमिक रूपमा समस्या समाधान हुँदै छ । यसअघि मलङ्गवा वितरण केन्द्रमा १८ देखि २० एमभिए बिजुली खपत हुँदै आएकोमा अहिले २२ देखि २५ एमभिए पावर माग भइरहेको छ ।
  पानी नपरेर सिँचाइका लागि जताततै बिजुलीबाट चल्ने मोटरको प्रयोग हुँदा लोड थेग्न साह्रै गाह्रो परिरहेको मलङ्गवा वितरण केन्द्रका प्रमुख एवं उप प्रबन्धक इन्जिनियर उमेश प्रसाद यादवले जानकारी दिनुभयो । लोड थेग्न मुस्किल परेपछि ढल्केबरतर्फको हरिपुर्वा सब स्टेसनबाट ८० एम्पिएर र लालबन्दीबाट ३० एम्पिएर बिजुली थप गरेको वितरण केन्द्र प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “नवलपुरदेखि तानिएको लाइनमा तीन सय एम्पिएरको तार (कन्डक्टर) रहेकोमा अहिले ४८० एम्पिएर लाइन दिनुपर्ने अवस्था आएको छ । यसरी तारको क्षमताभन्दा बढी पावर दिएर बिजुली प्रवाह गर्दा ओभरलोडका कारण बेला बेलामा बत्ती काटिने समस्या आएको हो ।”

No comments:

Post a Comment