सर्लाही सहित मधेसभरी धुमधामका साथ गणेश पूजा सम्पन्न
मधेशदूत समाचारदाता
सर्लाही, भदौ १२ ।
मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा यस वर्ष पनि गणेश पूजा उल्लासमय वातावरणमा सम्पन्न भएको छ । विशेषगरी सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सिरहा,बारा,पर्सा लगायतका जिल्लामा ठूलो धुमधामका साथ श्रद्धालुहरूले विघ्नहर्ता भगवान् गणेशको आराधना गरेका छन्।
गणेश चतुर्थीको दिनदेखि सुरु भएको पूजामा भक्तजनहरूले गाउँ–गाउँ र टोल–टोलमा पण्डाल निर्माण गरी गणेशको भव्य प्रतिमा स्थापना गरेका थिए । पूजाको दिन बिहानैदेखि भजन–कीर्तन, मन्त्रोच्चारण र विशेष विधिविधानसहित पूजनकार्य गरिएको थियो । पूजाको क्रममा कलश यात्रा निकालेर गाउँ र बजारको परिक्रमा गराइएको थियो, जसमा स्थानीय वासिन्दा, महिला, पुरुष, बालबालिकाको उत्साहपूर्ण सहभागिता देखिएको थियो।
गणेश पूजाको अवसरमा विभिन्न स्थानमा मेलाहरू पनि आयोजना गरिएका थिए। मेलामा धार्मिक तथा सांस्कृतिक प्रस्तुति, भजन–कीर्तन, नृत्य तथा नाटक प्रस्तुत गरिएका थिए भने कतिपय स्थानमा स्थानिय कलाकारले विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसले धार्मिक वातावरणसँगै मनोरञ्जनको रंग पनि थपेको थियो।
मलंगवा-८ का एक भक्त उदय रायका अनुसार गणेश पूजा घर–परिवारको सुख–शान्ति, समृद्धि र विघ्नबाधा नाशका लागि गरिन्छ। विघ्नहर्ता गणेशलाई बुद्धि र विद्या दिने देवता मानिने भएकाले विद्यार्थी तथा व्यापारी वर्ग विशेष रूपमा यस पूजामा सहभागी हुने गर्छन्।
आज विशेष विधिअनुसार भगवान गणेशको प्रतिमाको विसर्जन गरिने कार्यक्रम तय गरिएको आयोजकहरूले जनाएका छन्। विसर्जन यात्रामा बाजागाजा र सांगीतिक झाँकीको व्यवस्था हुने जनाइएको छ।
यसरी सर्लाही सहित सम्पूर्ण मधेस प्रदेशमा सम्पन्न भएको गणेश पूजाले धार्मिक एकता, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई अझ मजबुत पारेको स्थानीयहरूले बताएका छन्।
No comments:
Post a Comment