Translate

Thursday, August 28, 2025

सर्लाहीमा भारतीय तस्करसँग घुस लिएको आरोपमा दुई सशस्त्र प्रहरी कारबाहीमा



मधेशदूत समाचारदाता
सर्लाही, भदौ १२ । 

 सर्लाहीमा कार्यरत दुई सशस्त्र प्रहरी कर्मचारी भारतीय तस्करसँग घुस लिएको भिडियो सार्वजनिक भएपछि कारबाहीमा परेका छन् । सखुअवा सीमा चौकी (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लेखराज विष्ट र हवल्दार सुमन चौधरीलाई तत्काल निलम्बन गरी अनुसन्धान थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
  गत भदौ ८ गते राति खिचिएको भिडियोमा दुबै सुरक्षाकर्मीले भारतीय तस्करसँग २२ हजार रुपैयाँ लिइरहेको दृश्य देखिन्छ। सो भिडियो तस्कर समूह आफैंले खिचेर सार्वजनिक गरेको हो। भिडियोमा तस्करीको ‘लाइन मिलाउन’ भन्दै पैसा गन्दै गरेको दृश्य स्पष्ट देखिन्छ।
  सशस्त्र प्रहरी १० नम्बर गण सर्लाहीका प्रमुख एसपी देवबहादुर चन्दका अनुसार भिडियो सार्वजनिक भएलगत्तै दुबै जनालाई निलम्बन गरी गणमा तानिएको छ। ‘अनुसन्धानका लागि विशेष टोली गठन भएको छ। दोषी ठहर भए कडा कारबाही हुनेछ,’ उनले भने।
   प्रत्यक्षदर्शीहरुका अनुसार, सो सीमा क्षेत्रमा दुबै देशबाट रातिको समयमा तस्करी हुने गरेको छ। नेपालतर्फबाट काठ, चाइनिज मोटर, स्याउ र मदिरा तस्करी हुने गरेको भने भारततर्फबाट कपडा, स्पेयर पार्ट्स तथा दैनिक उपभोग्य सामान आउने गरेको उनीहरूको भनाइ छ। 
   विशेषगरी सुरक्षाकर्मीको मिलेमतोमा राति ११ बजेदेखि बिहान ३ बजेको समयमा बढी तस्करी हुने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । 


No comments:

Post a Comment