सर्लाहीमा कटुवा पेस्तोलसहित २ जना पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १२
हातहतियारसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले रामनगर गाउँपालिका–७, सिसौट टोलका अन्दाजी वर्ष २५ का किशन महरालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार,बुधबार दिउँसो करिब ३ बजेको समयमा भारतको सोनवर्षाबाट सर्लाहीको मलंगवातर्फ BR 06 DM 9523 नम्बरको मोटरसाइकल चढेर आएका महरालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले आफ्नो साथमा हुने हतियार बागमती नगरपालिका–४, जिरायत टोलका वर्ष अन्दाजी १८ का श्याम महरालाई राख्न दिएको बताएका थिए।
त्यसपछि प्रहरी टोलीले श्याम महरालाई पनि नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले उक्त हतियार बागमती नगरपालिका–१२ स्थित बागमती नदीको किनारमा राखिएको बताएका थिए। प्रहरीले सो स्थानबाट कटुवा पेस्तोलको एक थान नाल बरामद गरेको छ।
घटनामा संलग्न किशन र श्याम विरुद्ध सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment