निजी विद्यालयहरू विरोधमा मलंगवामा कोणसभा गर्दै आन्दोलनको चेतावनी
मनोज यादव---
सर्लाही, भदौ १२
हालै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित शिक्षा विधेयकविरुद्ध सर्लाही जिल्लाभरीका निजी विद्यालय संस्थापक र प्रिन्सिपलहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले बिहीबार मलंगवा -१० जि.वि.स. चोकस्थित शहीद स्मारक अगाडि कोणसभा गरी विरोध जनाएका छन्।
कोणसभा पश्चात् जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई जानकारी पत्र बुझाउँदै उनीहरूले यदि आफ्ना मागहरू सम्बोधन नभए विद्यालय बन्दजस्तो कदम चाल्नुपर्ने चेतावनी दिएका छन्। विरोधमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले उक्त विधेयकमा निजी विद्यालयहरूलाई असर गर्ने प्रावधानहरू राखिएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्तिको व्यवस्था, विद्यालयहरूले उत्पादन नगर्ने सामग्री अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने जस्ता प्रावधानहरू अव्यावहारिक छन्।
त्यस्तै, छात्रवृत्तिको वितरण अधिकार विद्यालयसँगै रहनुपर्ने र पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरिनुपर्ने माग गरिएको छ। साथै, सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म पढेका विद्यार्थीलाई मात्र उच्च शिक्षा तथा प्राविधिक कार्यक्रममा सहभागी गराउने व्यवस्था विभेदकारी रहेको भन्दै खारेज गर्नुपर्ने उनीहरूको माग छ।
नेशनल प्याब्सन सर्लाहीका अध्यक्ष हेम सागर आचार्य र प्याब्सन सर्लाहीका अध्यक्ष सागर गिरी द्वारा हस्ताक्षरित जानकारी पत्रमा “विधेयक संशोधन नभए विद्यालय बन्द गरेरै आन्दोलनमा जाने चेतावनी दिएको उल्लेख गरिएको छ।
शिक्षा जस्तो संवेदनशील विषयमा सरकारले सरोकारवालासँग छलफल नगरी एकपक्षीय रूपमा निर्णय लिएकोमा आफुहरुको गम्भीर आपत्ति रहेको बताउँदै प्याब्सन मलंगवाका फोकल पर्सन जोसेफ क्षेत्रीले चाँडै माग पुरा नभए सशक्त आन्दोलन गर्ने जानकारी दिएका छन्।
No comments:
Post a Comment