नाढीमन तालको पानी व्यवस्थापन: किसानलाई स्थायी राहत
मधेशदूत समाचारदाता---
सर्लाही, भदौ १० ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का गोसबरिया, कामद, लोदबा लगायतका क्षेत्रका किसानलाई राहत हुने गरी नाढीमन तालमा पानी व्यवस्थापनका लागि महत्वपूर्ण संरचना निर्माण सम्पन्न गरिएको छ ।
गाउँपालिकाले तालको दक्षिण–पश्चिम कुनामा सुलिगेट, जालीसहितको कल्भर्ट र कुलो निर्माण गरी स्थायी समाधानको व्यवस्था गरेको हो । यस संरचनाबाट तोकिएको स्तरभन्दा बढी पानी आफै कल्भर्टमार्फत बाहिर निस्कनेछ । यसले खेतमा आवश्यक सिँचाइ सहज हुने र बढी पानीका कारण हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
स्थानीय किसानले अब सिंचाइमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । पानीको अभाव वा बढी पानीका कारण पहिले धान खेतीमा समस्या भोग्दै आएका किसानले यो संरचना निर्माणले दिर्घकालिन राहत दिने बताएका छन् ।
गाउँपालिकाले यस कार्यलाई कृषि उत्पादन वृद्धिमा टेवा पुर्याउने महत्वपूर्ण पूर्वाधारका रूपमा लिएको छ । अब त्यस क्षेत्रका किसानले समयमै सिँचाइ पाएर उत्पादनमा वृद्धि गर्ने आशा गरेका छन् ।
No comments:
Post a Comment