आज चौंठचन्द्र पर्व धुमधामका साथ मनाइँदै के छ ?यसको धार्मिक र सांस्कृतिक महत्व
के छ ?यसको धार्मिक र सांस्कृतिक महत्व
मनोज यादव---
सर्लाही,भदौ १०
सर्लाहीसहित तराई मधेशका विभिन्न जिल्लामा आज धार्मिक आस्थाका साथ चौंठचन्द्र पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्थीका दिन सन्ध्याकालमा गणेश र चन्द्रमाको पूजा गरेर मैथिल समुदायले यो पर्व मनाउने परम्परा रहेको छ ।
यो पर्व केवल पूजा–पाठमा सीमित छैन, यो एक सांस्कृतिक उत्सव हो जसमा परिवार, विश्वास र मिथक सबैकुराको मिश्रण देखिन्छ ।
धार्मिक मान्यताअनुसार प्राचीन मिथिलाका राजा तथा ज्योतिष हेमाङ्गद ठाकुरले यस पर्वको सुरुवात गरेको हो । अर्कोतर्फ भविष्य पुराणमा भगवान् कृष्णको कथा पाइन्छ । स्यमन्तक मणि चोरीको मिथ्या आरोपले पीडित कृष्णले यसै दिन चन्द्रमा र गणेशको पूजा गरेर निर्दोष साबित भएको भन्ने विश्वास आजसम्म जीवित छ । यही कथाबाट यो पर्वलाई मिथ्या कलङ्कबाट मुक्ति दिलाउने पर्वको रुपमा पनि मानिन्छ ।
चौंठचन्द्रको विशेषता नै अरिपन हो । चामलको पीठोले आँगनमा चन्द्रमाको आकृति कोरिन्छ, त्यसैमा पूजा सामग्री राखिन्छ । यसरी सजिएको आँगन केवल धार्मिक कर्मका लागि होइन, कलात्मक अभिव्यक्तिका लागि पनि पहिचान बनेको छ । घरका एक सदस्य दिनभर उपवास बस्छन् । साँझ स्नान गरी शुद्ध मनले गणेश र चन्द्रमाको पूजा गरेपछि मात्र चन्द्रदर्शन गर्ने चलन छ । यसरी पूजा नगरी चन्द्रमा हेरे मिथ्या कलङ्क लाग्छ भन्ने जनविश्वास छ ।
यो पर्वसँग एक रोचक मान्यता पनि जोडिएको छ । भनिन्छ, यसै रात चोरी गर्न सके वर्षभरि सजिलै चोरी गर्न सकिन्छ । त्यसैले चौंठचन्द्रलाई चोरहरूको साइत बनाउने दिनका रूपमा पनि लिइन्छ ।
चौंठचन्द्र केवल चन्द्रमा पूज्ने पर्व मात्र होइन, यो मिथिलाको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनको ऐना हो । यसले मिथ्या आरोपबाट जोगाउने, परिवारको कल्याण गर्ने र समाजमा आस्था बाँध्ने विश्वास बोकेको छ ।
No comments:
Post a Comment