Translate

Monday, August 11, 2025

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा आमा–छोरासहित तीन घाइते

 



मधेश दूत डेस्क----
सर्लाही,साउन २६ गते।

     सर्लाहीको बागमती नगरपालिका–१२ बथाने टोलस्थित भित्री सडक खण्डमा सोमबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा आमा–छोरासहित तीनजना घाइते भएका छन्।
   करिब साँझ ४ बजे बागमती पुलबाट भरत तालतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ गइरहेको प्रदेश–०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको  प्रहरीले जनाएको छ।
   दुर्घटनामा प्रदेश–०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका–१० का १८ वर्षीय घनश्याम चौधरी सामान्य घाइते भएका छन्। उनलाई बागमती मोडेल अस्पताल, कर्मैयामा उपचारपछि इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा लिइएको छ।
  त्यसैगरी, बागमती प्रदेश–०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकल चालक रौतहट दुर्गा भगवती गाउँपालिका–१ का १८ वर्षीय राजु चौधरीको दुबै हात र बायाँ खुट्टामा चोट लागी उपचारपछि डिस्चार्ज गरिएको छ। सोही मोटरसाइकलमा सवार उनकी आमा ४५ वर्षीया राधिका देवी चौधरीको टाउको, ढाड र दुबै हातमा चोट लागी सभ्यता हेल्थ केयर, कर्मैयामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।

No comments:

Post a Comment