Translate

Monday, August 11, 2025

मलंगवा कारागारमा ५ बालबालिकासहित ३७१ जना कैदी, व्यवस्थापनमा समस्या

 

मनोज यादव---
मलंगवा, साउन २६

   

सर्लाहीको सदरमुकाम मलंगवामा रहेको  कारागार कार्यालयमा कैदीबन्दीको संख्या क्षमता भन्दा दोब्बर पुगेपछि व्यवस्थापन संकट चुलिएको छ।
 १६० पुरुष र ५० महिला कैदी राख्ने क्षमता भएको कारागारमा हाल ३३३ पुरुष र ३८ महिला गरि ३७१ जना कैदीहरु राखिएका छन्। महिला कैदीसँगै पाँच बालबालिका पनि रहेका छन्।
   निमित्त कारागार प्रशासक असरफ हुसेन गद्धीका अनुसार पुरुष कैदी संख्या क्षमता भन्दा १७७ जना बढी भएकाले बस्ने र सुत्ने ठाउँको समस्या चरम छ। “गर्मी बढ्दा बरण्डा र बाहिर पाल टाँगेर सुताउनुपर्ने अवस्था आउँछ,” उनले बताए। महिला कैदी संख्या भने क्षमता भन्दा कम भएकाले त्यस्तो समस्या नरहे पनि पुरुष कैदी व्यवस्थापन गाह्रो बनेको छ। कारागारमा सर्लाहीसहित रौतहट, महोत्तरी, बारा, सिन्धुली, सिरहा, सप्तरी लगायत २० भन्दा बढी जिल्लाका कैदीबन्दी छन्।
  कैदीबन्दीका अगुवा मनोजकुमार चौधरीका अनुसार ठाउँ अभावले खेलकुद वा अन्य गतिविधि गर्न नसकिने अवस्था छ। “हामीलाई अन्य समस्या छैन, तर बस्ने र सुत्ने ठाउँ साँघुरो छ,” उनले भने।
   हाल कारागारभित्र कैदीबन्दीले गलैचाँ बुन्ने, सिलाइकटाइ गर्ने र मुढा बनाउने काम गरिरहेका छन्। कारागारको सुरक्षामा प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जनाएका छन्।






No comments:

Post a Comment