सर्लाहीको सिमावर्ती क्षेत्रमा घर खर्चदेखि भोजभतेर सम्मका सामानका लागि भारतीय बजारको भर
घरायसी सामानको नाममा अवैध रुपमा सामानहरुको चोरी पैठारी
मनोज यादव---
सर्लाही,साउन ३०
सर्लाही जिल्ला अन्तर्गत पर्ने सिमावर्ती क्षेत्रका नागरिकहरु घर खर्चदेखि भोजभतेर सम्मका सामानका लागि भारतीय बजारकै भर पर्दै आएका छन् । जिल्लाको सदरमुकाम मलंगवा सहित नेपाल-भारत सिमावर्ती क्षेत्रमा पर्ने गाउँका मानिसहरु नेपाली बजारमा सहजै उपलब्ध हुने खाद्यान्न तथा लत्ता कपडालगायतका वस्तु तथा सामान किनमेल गर्न भारतीय सीमावर्ती बजारनै धाउने गरेका छन् ।
भारतीय बजारमा पाइने अधिकांश सामानहरु नेपाली बजारमा सजिलैसित किन्न सकिने भएपनि उनीहरु सकभर यहाँका बजारमा किनमेल गर्न खासै रुचि देखाउँदैनन्। तत्कालै कुनै सामानको आवश्यक्ता परिहाले पारीको बजारसम्म जाने समय नभएको अवस्थामा मात्र यहाँ सामान किन्ने गरेको मलंगवाका एक स्थानीयले बताए। अरुबेला त मलंगवा नजिकै पर्ने भारतको सोनवर्षा र सितामढी नै जाने गरेका उनले भने।
मलंगवा नगरपालिका वडा न-२ कि एक गृहणी मुक्ता यादव आफ्नो घरको लागि चाहिने भान्साको सामान देखि लत्ताकपडा सीमावर्ती बजारबाटै खरिद गर्ने गरेको बताउँछिन् । नेपालमा एक किलो चिनी किन्दा प्रतिकिलो रुपैयाँ पर्छ भने त्यही चिनी भारतीय बजारमा किन्दा प्रतिकिलो भारु ४५ रुपैयाँ पर्छ। किलोमा ठुलो अन्तर पर्ने भएकोले आफु चिनी लगायत अन्य सामानहरु पनि भारतीय बजारबाटै किनेर ल्याउने गरेको उनले बताइन् ।
वर्षौंदेखि यहाँका जनताहरु जन्मदेखि मृत्यु संस्कारसम्मका सबै कर्म गर्नका लागि आवश्यक पर्ने सामानहरु खरिद गर्नका लागि भारतीय बजारकै भर पर्दै आएको नागरिक समाजका अगुवाहरु बताउँछन् । मलंगवा आसपासका नेपाली जनताले भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनको लागि ल्याउने खाद्यान्न तथा लत्ताकपडामा भन्सार कार्यालयले खासै रोकटोक नगर्ने भएकोले दैनिक हजारौं संख्यामा सर्वसाधारणले दैनिक उपभोग्य सामान तथा खाद्यान्न ल्याउँदै गरेका दृश्य सामान्य जस्तै लाग्ने गरेको उनीहरु बताउँछन् ।
सर्लाही मात्र नभइ मधेस प्रदेशका आठ जिल्लाका ६० प्रतिशत जनता सीमावर्ती भारतीय बजारबाटै उपभोग्य समान खरिद गर्ने गरेको पाइन्छ ।खाद्यान्नदेखि लत्ताकपडासम्म भारतको भन्दा नेपालमा २० देखि ४० प्रतिशत महँगो पर्ने गरेकोले यहाँका नागरिकहरु स्वदेशी बजारभन्दा पनि सीमावर्ती बजारमा नै बढी आकर्षित हुने गरेको पाइन्छ ।
पछिल्लो समय मलंगवा लगायत सिमावर्ती नेपाली बजारका ब्यापारीहरु द्वारा घरायसी प्रयोजनको नाममा सानातिना क्यारियरहरुको मद्दतबाट अवैध रुपमा सामानहरुको चोरी पैठारी गर्ने धन्दा निकै फस्टाएको छ। तर भन्सार कार्यालयले भने सीमावर्ती बजारबाट कानूनले तोकेकोभन्दा धेरै समान ल्याउनेलाई कारबाही गर्दै आइरहेको दाबी गर्छन। सीमावर्ती बजारबाट कानूनविपरीत समान ल्याउनेलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक निगरानी गर्दै कारबाही गर्दै आइरहेको छ तर खुला सीमानाका भएकोले घरायसी प्रयोजनको नाममा भित्रिने अवैध सामान र सामान ल्याउने क्यारियरहरुलाई पूर्ण रुपमा रोक लगाउन नसकिएको कार्यालयको भनाई छ।
No comments:
Post a Comment