Translate

Friday, August 15, 2025

मलंगवा बजारमा सडक अतिक्रमण बढ्दो

  


 ---ठेला, फुटपाथे पसल र सवारी पार्किङको व्यवस्थापनमा नगरपालिका  कमजोर--- 


मधेश दूत समाचारदाता----

सर्लाही,साउन ३० 

    सर्लाही जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका तथा सदरमुकाम मलंगवा बजार क्षेत्रमा सडकमा ठेला, साना पसल र अव्यवस्थित पार्किङका कारण पैदलयात्रीदेखि सवारी चालकसम्म त्रसित हुने अवस्था आएको छ। नगरपालिकाले ट्राफिक व्यवस्थापनमा ध्यान नपुर्याउँदा यस्तो अवस्था आएको हो। जुन वर्षौंदेखि यथावत छ।

    बजार लाग्ने दिन सोमबार, बुधबार र शुक्रवार बिहानैदेखि मुख्य सडकमा तरकारी,फलफुल, कपडा,मिठाई र अन्य सामानका ठेला तथा फुटपाथे पसलहरू सडकको आधा भाग ओगटेर राख्ने गरेका कारण पैदल यात्रीहरु जोखिमपूर्ण तरिकाले हिँड्न बाध्य छन् भने सवारी साधनहरू लामो समयसम्म जाममा अल्झिने गरेका छन् ।
   मलंगवा-२ निवासी अमृता यादव भन्छिन्, "सडकमा पसल र ठेला भएपछि हिँड्नै गाह्रो हुन्छ। बच्चा बोकेर किनमेलको लागि बजार आउँदा सवारीसँग ठोक्किन्छ कि भनेर डर लाग्छ।"
    वडा न-८ स्थित पुरानो बसपार्क अगाडीको सडकमा फलफुल पसल सञ्चालन गर्दै आएका व्यापारी भन्छन्, "ग्राहकलाई सजिलो होस् भनेर हामी सडक छेउमा बस्छौं, तर भीड धेरै हुँदा व्यापारमा पनि असर पर्छ। नगरपालिकाले सबैलाई मिलाएर व्यवस्थित स्थान बनाउनुपर्छ।"
  ट्राफिक प्रहरीका अनुसार सीमित  जनशक्तिका कारण बजारको भीडभाड नियन्त्रित गर्न कठिनाइ हुने गरेकोले थप जनशक्ति र नगरपालिकाको सहकार्य आवश्यक छ।"
  उता, नगरपालिकाले भने बजार व्यवस्थापनका लागि योजना बनाएर  ठेला र साना पसललाई छुट्टै स्थानमा सार्ने, पार्किङ क्षेत्र निर्धारण गर्ने तयारी भइरहेको र यसकालागि व्यापारी र स्थानीयसँग सहमति जुटाउने काम भइरहेको कुरा वर्षौंदेखि पत्रकारहरुलाई सुनाउँदै आएपनि हालसम्म कार्यान्वयन भएको छैन । बजारको ट्राफिक  व्यवस्थापन गर्ने र पुरानो बसपार्कलाई सारेर मलंगवा-२ मा रहेको नयाँ बसपार्कमा लाने जस्ता आश्वासन दिएर नगरपालिकाले जनतालाई झुक्याउने काम मात्र गरिरहेको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले     सुनाए ।
     उनले समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिका र ट्राफिक प्रहरी बीचको समन्वयमा मुख्य बजार सडकको छेउछाउ ठेला , फुटपाथे पसल र जथाभावी सवारी पार्किङलाई निषेध गरि  वैकल्पिक व्यापारिक क्षेत्रको विकास गर्नुपर्ने सुझाव दिएका छन्।


No comments:

Post a Comment