Translate

Saturday, August 30, 2025

खानेपानी मन्त्री र बिरगंजका मेयरलाई धम्की दिएको आरोपमा युवती पक्राउ

 



मधेशदूत समाचारदाता---
पर्सा,भदौ १४ गते।

    पर्सा प्रहरीले संघीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवतीलाई नियन्त्रणमा लिएको छ।
 पक्राउ परेकी युवती बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा महेशपुरकी किरण साह हुन्। हाल उनी वीरगञ्ज–१३ मुर्लीमा बस्दै आएकी छिन्।
   जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार मन्त्री यादव र मेयर सिंहले आफूलाई किरणले धम्की दिएकी भन्दै गुनासो गरेपछि उनलाई पक्राउ गरिएको हो। हाल उनलाई प्रहरीले सोधपुछ गरिरहेको छ।
  प्रारम्भिक अनुसन्धानअनुसार किरणले वीरगञ्जमा फैलिएको भनिएको हैजा सङ्क्रमणप्रति असन्तुष्टि जनाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिएकी थिइन्। उनले आफ्ना परिवारका सदस्य हैजाका कारण आईसीयूमा भर्ना भएको दाबी गरेकी थिइन्। तर अनुसन्धानले उनका कुनै पनि परिवारजन हैजा वा झाडापखालाका कारण अस्पतालमा भर्ना नभएको पुष्टि गरेको छ। वास्तवमा उनका बुवा तुलसी साह दमको पुरानो रोगका कारण उपचारमा भर्ना भएका थिए, तर हाल डिस्चार्ज भइसकेका छन्।
   यसैबीच मन्त्री यादव र किरणबीचको अभद्र फोन संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। प्रहरीले यो घटनामार्फत मन्त्री र मेयरको छवि धुमिल गर्ने प्रयोजन लुकाएको हुन सक्ने आशंका गरेको छ। साथै, किरण साह कुनै समूह वा व्यक्तिबाट प्रेरित भएको सम्भावना समेत प्रहरीको अनुसन्धानमा रहेको बताइएको छ।
   प्रहरीले घटनालाई गम्भीर मानेर आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ।


No comments:

Post a Comment