सर्लाहीमा सिंचाइ र मलको चरम अभाव, अनेरास्ववियुले बुझायो ज्ञापनपत्र
मनोज यादव---
सर्लाही,भदौ ८
सर्लाही जिल्लामा पानी र कृषि मलको चरम अभावका कारण किसानहरू गहिरो समस्यामा परिरहेका बेला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मलंगवा नगर कमिटीले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ।
आइतबार अनेरास्ववियुका नगर कमिटी अध्यक्ष धर्मेन्द्र राय (टाका) नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको ज्ञापनपत्रमा जिल्लाका सर्वसाधारण, गरीब, दलित तथा निमुखा किसानहरू अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गरिएको छ। सिंचाइका लागि आवश्यक पानी नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने, अर्कोतर्फ स्थानीय तहमा खाद मलको अभावसमेत देखिएको छ।
ज्ञापनपत्रमा भनिएको छ कि किसानहरूले खाद मल प्राप्त गरे पनि अत्यन्त महँगो मूल्यमा किन्नुपरेको छ, जसले गर्दा धेरै किसानहरू नेपालमा उपलब्ध मल किन्न नसकी भारतबाट ल्याउन बाध्य भएका छन् । तर सीमामा थप सास्ती झेल्नुपरेको उनीहरूको गुनासो रहेको छ। अन्नबाली उत्पादन नहुँदा जीविकोपार्जनमै संकट आउने स्थिति भएकोले समस्या तत्काल समाधानको माग गरिएको छ ।
अनेरास्ववियुले कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मलंगवा कार्यालयहरूमा अनियमितता रहेको आरोपसमेत लगाएको छ। मल वितरणमा पारदर्शिता नभएको, डिलरहरूको मिलेमतोमा कमिसनको भरमा वितरण हुनेजस्ता बेथिति कार्यहरू भइरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न प्रशासनसँग माग गरिएको छ ।
ज्ञापनपत्रमा कुन पालिका र वडामा कति मल वितरण गरिएको हो, कुन डिलरमार्फत मल हस्तान्तरण भएको हो र चालु वर्ष सर्लाही जिल्लामा कति परिमाणमा मल आएको हो भन्ने सम्पूर्ण विवरण एक साताभित्र सार्वजनिक गर्न आग्रह गरिएको छ ।
No comments:
Post a Comment