Translate

Tuesday, August 19, 2025

महिला अधिकारकर्मी द्वारा मलंगवामा बहुविवाहको विरोधमा धर्ना

 



मधेश दूत समाचारदाता---
सर्लाही,भदौ ४

 सर्लाहीको सदरमुकाम मलंगवामा महिलामाथि हुने विभेद र बहुविवाहको वैधीकरणविरुद्ध मंगलबार महिला अधिकारकर्मीले धर्ना दिएका छन् ।  
   जिल्ला विकास समिति (जिविस) स्थित शहीद चोकमा आयोजित धर्नामा विभिन्न महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
  धर्नालाई सम्बोधन गर्दै महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष रम्भा झाले बहुविवाहलाई वैध बनाउने सरकारी प्रयासलाई "महिलामाथिको प्रत्यक्ष विभेद र सामाजिक प्रतिगमन" भन्दै कडा आपत्ति जनाइन् । उनले भनिन्, “राज्यले महिला अधिकारको संरक्षण र प्रवर्द्धनमा पुनः प्रतिबद्धता जनाउनैपर्छ, नत्र हामी निरन्तर आन्दोलनमै रहन्छौं ।”
  कार्यक्रममा मानव अधिकारकर्मी मुकेश कुमार मिश्र, बुधन साह, महिला अधिकार अभियन्ता दिवानी घिमिरे, रिना साह, दिव्या साहलगायतले पनि बहुविवाहविरुद्ध कठोर आवाज उठाएका थिए । सहभागीहरूले “मेरो शरीर मेरो अधिकार”, “संविधानले दिएको हक कागजमा किन भयो लक”, “नारी शोषण सहँदैन, बहुविवाह चल्दैन” जस्ता नारा लगाएर सरकारलाई चेतावनी दिएका थिए ।
 धर्नामा उपस्थित अधिकारकर्मीहरूले बहुविवाहसम्बन्धी कानुन फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उद्घोष गरे । अध्यक्ष झाले आन्दोलनलाई चरणबद्ध रूपमा थप सशक्त बनाउँदै लैजाने घोषणा गर्दै सबैलाई ऐक्यबद्धताका साथ अघि बढ्न आग्रह गरिन् ।


No comments:

Post a Comment