मधेश दूत समाचारदाता ---
सर्लाही,भदौ ४
मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीलाई विभिन्न महिला समूह र सामाजिक संस्थाले बहुविवाह वैधीकरण गर्ने प्रयासप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सरोकारवालाहरूले बहुविवाहलाई संविधान र फौजदारी संहिताले प्रतिबन्धित गरेको स्पष्ट गर्दै पनि पछिल्लो समय मधेश प्रदेशमा यसलाई परम्परा वा सामाजिक मान्यताको नाममा समर्थन गर्ने प्रयास हुनु अत्यन्त चिन्ताजनक भएको बताएका छन् ।
ध्यानाकर्षण पत्रमा बहुविवाहले घरेलु हिंसा, आत्महत्या, बालबालिकामा मनोवैज्ञानिक समस्या, महिला बेचविखन, जबर्जस्ती विवाह, सम्पत्ति अधिकार गुम्ने, यौनजन्य रोग फैलिने जस्ता गम्भीर असर गर्ने तथ्य प्रस्तुत गरिएको छ। साथै, यसलाई वैधता दिइए संविधानमाथि आघात पुग्ने र समाजमा दाइजो, बालविवाह, छुवाछुतजस्ता कुसंस्कारलाई थप बल पुग्ने चेतावनी दिइएको छ। ध्यानाकर्षण पत्र मार्फत बहुविवाह रोक्न कडा कानुनी कारबाही गर्न, पीडित महिलाका लागि सुरक्षित आश्रय र कानुनी सहयोग उपलब्ध गराउन, पुरुष समूह, धार्मिक अगुवा, शिक्षक र किशोर–किशोरीलाई लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।
महिला दलित सेवा केन्द्र, नेपाल दलित सेवा समाज, आशिष सामाजिक सेवा समाज, सरस्वती पैरवी महिला समूह, कल्याण पैरवी समूह मलंगवा-६ खुटौना, ओरेक सर्लाही, महिला मानवअधिकार रक्षक सञ्जाल सर्लाहीलगायतका संस्था तथा समूहका सदस्यहरु सम्मलित टोलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पुगेर उक्त पत्र बुझाएका हुन्।

No comments:
Post a Comment