गौर घटनाबारे सर्वोच्चको आदेशविरुद्ध जसपा नेपालको सर्लाहीमा प्रदर्शन
मधेश दूत समाचारदाता---
सर्लाही,भदौ २ ।
गौर घटनासम्बन्धी सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” तथा “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै अदालतको निर्णयले सहिदहरूको बलिदानमाथि अपमान गरेको आरोप लगाए। उनीहरूले सर्वोच्चले इन्सेकलगायत मानवअधिकार संस्थाले तयार पारेका प्रतिवेदनलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका पूर्व राष्ट्रियसभा सदस्य रामपृत पासवानले गौर घटना केवल राजनीतिक विवाद नभई मधेश आन्दोलनकै निर्णायक क्षण भएको बताए। उनले सहिदको बलिदानलाई न्याय नदिने आदेशलाई अस्वीकार गर्ने चेतावनी दिए।
त्यस्तै, जसपा नेता विजय यादवले करिब १९ वर्षपछि आएको अदालतको आदेशले संघीयता र पहिचानको मुद्दा कमजोर बनाउन गरिएको षड्यन्त्रको उदाहरण भएको दाबी गरे।
२०६३ साल चैत ७ गते गौरमा भएको उक्त घटनामा २७ जनाले ज्यान गुमाएका थिए।
No comments:
Post a Comment