Translate

Sunday, August 31, 2025

पूर्वाधार अभावका बीच चन्द्रनगर पोलिटेक्निक बचाउन स्थानीय तहको पहल

 


मधेशदूत समाचारदाता---
सर्लाही,भदौ १५

    चन्द्रनगर गाउँपालिका–७ मा अवस्थित चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटमा सञ्चालित दुईवटा प्राविधिक कार्यक्रमहरु सिटिईभिटीले बन्द गर्ने तयारी गरेपछि स्थानीय सरकार सक्रिय भएको छ। सिटिईभिटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) मधेश प्रदेश कार्यालयका प्रमुख तथा उपप्रमुखसँग गाउँपालिका प्रमुखसहितका  प्रतिनिधिहरूले विशेष छलफल गरेका छन्।
  शून्य पूर्वाधारमै सुरु भएको उक्त ईन्स्टिच्युटको बारम्बार अनुगमन गर्दा पनि आवश्यक संरचना निर्माण नहुँदा कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको सिटिईभिटीले जनाएको छ। यद्यपि, गाउँपालिकाले पूर्वाधार निर्माण र प्रभावकारी व्यवस्थापनको प्रतिबद्धता जनाउँदै कार्यक्रम नबन्द गर्न आग्रह गरेको छ ।
   उक्त ईन्स्टिच्युटको आर्थिक तथा प्रशासनिक जिम्मेवारी विगत एक वर्षदेखि व्यवस्थापन समितिसँग थियो। तर, सञ्चालनमा देखिएको कमजोरीका कारण २०८२ सालको श्रावण महिनामा बबरगन्जमा बसेको बृहत् परामर्श बैठकले जिम्मेवारी पुनः गाउँपालिकालाई सुम्पिएको थियो।
  गाउँपालिका अध्यक्ष राज कुमार महतोले सोही निर्णयअनुसार सिटिईभिटीसँग पहल थालेका हुन्। “हामी प्राविधिक शिक्षाको भविष्य जोगाउन आवश्यक सबै पहल गर्छौं,” अध्यक्षले भनेका छन्।
  सिटिईभिटीले पनि स्थानीय तहको सक्रियता हेरेर कार्यक्रम बन्दबारे पुनः विचार गर्न सकिने संकेत दिएको छ। ईन्स्टिच्युटको सुधार तथा दीगो सञ्चालनका लागि गाउँपालिकाले पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका कार्यक्रमहरु अघि बढाउने तयारी गरिरहेको जनाइएको छ।


No comments:

Post a Comment