Translate

Thursday, August 14, 2025

भरत ताल निर्माण गरेका बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवाना

 

नदीजन्य स्रोत हिनामिनामा दोषी ठहर, योजना प्रमुख र अधिकृतसमेत कैद  सजायमा

       पीडित राहत कोषमा ४० लाखभन्दा बढी रकम दाखिला गर्न आदेश


मधेश दूत डेस्क 
सर्लाही, साउन २९ गते।


सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापासहित तीन जना उच्च स्थानीय अधिकारीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र करोडौं जरिवानाको सजाय सुनाएको छ।
    अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापा, योजना शाखा प्रमुख सागर पौडेल र अधिकृत विमलकुमार पोखरेललाई ८/८ वर्ष कैद र जनही १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ १३ पैसाको जरिवाना तोकेको हो। साथै, तिनीहरूबाट पीडित राहत कोषमा ४० लाख ३९ हजार १ सय ३१ रुपैयाँ ९७ पैसा दाखिला गर्नसमेत आदेश दिइएको छ।
   अदालतले दोषीहरूले ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ ४० पैसाको बराबरमा नदीजन्य पदार्थ हिनामिना गरेको पुष्टि गरेको हो।
    यसअघि पनि मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा एक वर्ष कैद र तीन करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बराबरको बिगो तिर्नुपर्ने सजाय भोगिसकेका छन्।
   स्थानीय सरकार सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र स्रोतको समुचित प्रयोगबारे चासो बढिरहेको सन्दर्भमा आएको यो फैसला स्थानीय तहमा देखिएको भ्रष्टाचारविरुद्धको एउटा कडा सन्देशका रूपमा लिइएको छ।


No comments:

Post a Comment