Translate

Friday, August 22, 2025

फिजियोथेरापीमार्फत निराश भइसकेका पक्षघात बिरामीमा आशाको किरण : मलंगवाको पेन प्यारालाइसिस अस्पताल

 



 मनोज यादव---
सर्लाही, भदौ ६ । 

    सर्लाहीको मलंगवा नगरपालिका वडा न–८ मा अवस्थित श्री राम अवतार  मेमोरियल पेन प्यारालाइसिस अस्पताल अहिले अनेकौं निराश जीवनमा आशाको किरण जगाउने केन्द्र बनेको छ । यहाँ नियमित फिजियोथेरापी उपचारपछि सामान्य जीवनतर्फ फर्किएका बिरामीहरुको कथा सुन्दा गाउँ–समाजमै उत्साह छाएको छ । यस्तै एउटा प्रेरणादायी कथा हो  एक पक्षघात (प्यारालाइसिस) ग्रस्त महिलाको ।

 

केही महिनाअघि ब्रेन ट्युमरको अपरेशनपछि उनी ओछ्यानमै सीमित थिइन् । हातखुट्टा चलाउन नसक्ने, आफैं कोल्टो पल्टिन नसक्ने अवस्था परिवारका सदस्य अस्पताल–अस्पताल धाउँदै थाकिसकेका थिए  । निको हुने आशा लगभग गुमिसकेको थियो ।त्यसैबेला उनलाई मलंगवास्थित पेन प्यारालाइसिस अस्पतालमा ल्याइयो । यहाँ सुरु भएको नियमित फिजियोथेरापीले बिस्तारै चमत्कार देखायो । “हामी त पूर्ण निराश भइसकेका थियौं । तर अहिले उनी फेरि हाँस्न थालेकी छिन्, आफैं हिँडडुल गर्न सक्छिन्,” उनका श्रीमान् तथा नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा भावुक हुँदै सुनाउँछन् ।
  अस्पतालका सञ्चालक तथा फिजियोथेरापिस्ट डा. सनिज कुमार पण्डित बिरामीको सुधारको कथा बताउँदा गर्व गर्छन् । “उहाँलाई अस्पताल ल्याउनुअघि केही दिन म घरमै गएर फिजियोथेरापी गरें । केही सुधार देखिएपछि मात्र अस्पतालमा ल्याइयो । परिवारको सहयोग, नियमित अभ्यास र निरन्तर थेरापीले अहिले ९० प्रतिशत स्वास्थ्य सुधार भएको छ,” उनले भने ।
डा. पण्डितका अनुसार, समयमै सुरु गरिएको उपचारले गम्भीर अवस्थामा पुगेका बिरामीलाई समेत निको पार्न सक्ने क्षमता राख्छ भन्ने यस केसले प्रमाणित गरेको छ ।
 यो अस्पतालमा पक्षघात मात्र होइन, मेरुदण्ड, ढाड, कम्मर, गर्दन दुखाइ, नशा च्यापिने, डिस्क प्रोल्याप्स, आर्थराइटिस, घुँडादुखाइ, खेलकुद चोटलगायतका रोगको उपचार फिजियोथेरापीद्वारा गरिन्छ । अपाङ्गता भएका बालबालिकाका लागि विशेष थेरापी पनि उपलब्ध छ । पहिले स्थानीयलाई यस्तो उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो। अब भने समय र खर्च दुबै बचत भएको छ।अस्पतालले अहिलेसम्म १ हजारभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ । जसमध्ये करिब ९० प्रतिशतमा उल्लेखनीय सुधार भएको छ । केवल मलंगवा मात्र नभई यो सेवा भारत सीमा नजिकका गाउँहरूमा समेत पुर्याइएको छ ।   उपचारपछि बिरामी निको भएपछि परिवार मात्र होइन, छिमेकी पनि खुसी छन् ।   अध्यक्ष झाले भने, “पहिले यस्तो रोग लाग्दा ठूलो शहर धाउनुपर्ने बाध्यता थियो । अब यहीँ उपचार हुन थालेपछि हामीलाई ठूलो राहत भएको छ ।”
  पछिल्लो समय मलंगवाको पेन प्यारालाइसिस अस्पताल फिजियोथेरापीमार्फत निराश जीवनमा आशा जगाउने केन्द्रका रूपमा स्थापित हुँदैछ । यहाँ उपचार पाएका बिरामीका कथाले स्थानीयमा मात्र होइन, छिमेकी भारतीय गाउँमै पनि स्वास्थ्य आशाको नयाँ सम्भावना देखाएको छ ।

No comments:

Post a Comment