मलंगवामा निजी विद्यालयहरूको बस र्याली, शिक्षा विधेयकको विरोध
मधेशदूत समाचारदाता–––
सर्लाही, भदौ ६ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सर्लाहीको मलंगवामा निजी विद्यालयहरूले बससहित शान्तिपूर्ण र्याली निकालेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मलंगवाको आयोजनामा भएको र्यालीमा नगरका विभिन्न निजी विद्यालयका सञ्चालक, शिक्षक–शिक्षिका र विद्यालय बसहरूको सहभागिता थियो। र्याली वडा नं. ८ स्थित पद्मरत्न स्कुलबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरेर पुनः त्यहीँ पुगेर सम्पन्न भएको थियो ।
प्याब्सन मलंगवाका फोकल पर्सन जोसेफ क्षेत्रीका अनुसार मलंगवासँगै जिल्लाका बरहथवा, हरिवन, लालबन्दी, बयलबासलगायतका क्षेत्रमा पनि यस्तै किसिमको विरोध र्याली गरिएको छ।
प्याब्सनले आफ्नो आन्दोलन शिक्षाको गुणस्तर घटाउन होइन, विधेयकमा रहेका अव्यावहारिक प्रावधान सच्याउनका लागि भएको स्पष्ट पारेको छ। उनका अनुसार विधेयकमा ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द राखिएको छ, तर त्यो निजी विद्यालयका लागि सम्भव नभएकाले हटाउनुपर्ने माग गरिएको छ । त्यस्तै, विद्यालयहरूले पोशाक, स्टेशनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ, जुन विद्यालयको जिम्मेवारी नभएकाले खारेज गर्नुपर्ने भनिएको छ। कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा आएका विद्यालयलाई गैरनाफामूलक संस्था बनाउने व्यवस्था पनि व्यवहारिक नभएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरिएको छ।
यसैगरी, छात्रवृत्ति कसलाई दिने भन्ने अधिकार विद्यालयमै रहनुपर्ने, तर पालिकाको प्रतिनिधि रहने गरी पारदर्शी समिति गठन गरेर वितरण गर्न सकिने व्यवस्था हुनुपर्ने प्याब्सनको माग छ । हाल प्रचलित ऐन, नियमावली र २०७७ को संशोधनमा रहेका ४५ प्रतिशत आरक्षण छात्रवृत्ति व्यवस्था तथा केवल सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेकाले मात्र उच्च शिक्षा वा सीटीईभीटी कार्यक्रम पढ्न पाउने विभेदकारी व्यवस्था पनि हटाउनुपर्ने प्याब्सनले जनाएको छ।
प्याब्सनले सरकारले आफ्ना माग सम्बोधन नगरेमा आन्दोलनलाई अझ कडा बनाउन बाध्य हुने चेतावनीसमेत दिएको छ ।
No comments:
Post a Comment