Translate

Monday, August 18, 2025

हरिपुर्वा रामपुकार हत्या प्रकरण : श्रीमतीको समेत हत्या गरेका ‘मस्ट वान्टेड’ आरोपी धीरेन्द्र पक्राउ

 


मधेश दूत समाचारदाता----
सर्लाही, भदौ २।

सर्लाहीको हरिपुर्वामा भएको रामपुकार यादवको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्। प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका हरिपुर्वा–५ निवासी २६ वर्षीय धीरेन्द्र राय (उर्फ धीरु) पक्राउ परेका हुन्।
    गत शुक्रबार साँझ घरमै बसिरहेका बेला हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादवलाई नजिकैबाट गोली प्रहार गरिएको थियो। कन्चटमा लागेको गोलीका कारण गम्भीर घाइते भएका उनलाई उपचारका लागि महोत्तरीको सोनामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
    घटनापछि फरार हुने क्रममा अभियुक्तहरू बसन्तपुर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए। प्रहरीलाई त्यही क्रममा बीआर–३० एजी–२३५४ नम्बरको भारतीय मोटरसाइकल र घाइते अवस्थामा धीरेन्द्र भेटिएका थिए। उपचारका लागि जनकपुर पुर्याइएको उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ।
   प्रहरी स्रोतअनुसार रामपुकारमाथि गोली प्रहार गर्ने ‘मुख्य सुटर’ धीरेन्द्र नै हुन्। उनी यसअघि पनि कर्तुतका कारण फरार सूचीमा परेका थिए। २०८१ असोज ९ गते उनले आफ्नै श्रीमती २३ वर्षीया चित्रलेखा यादवको गोली हानी हत्या गरेका थिए भने बुवा रामदिनेश यादवलाई पनि घाइते बनाएका थिए।
   स्रोतका अनुसार रामपुकार हत्या प्रकरण लागुऔषध सेवनमा संलग्न छोरासँगको विवादका कारण घटेको हो। फरार व्यक्तिसँग विवाद भएपछि रामपुकारलाई निशाना बनाइएको र त्यसका लागि धीरेन्द्रलाई प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
    सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले धीरेन्द्र विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए। घटनामा संलग्न अर्का फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। फरार रहेका व्यक्तिसमेत भारतमा आफ्नै आमाको हत्यामा संलग्न रहेको र केहीवर्ष अघि भारतबाट आएर हरिपूर्वामै घर बनाएर बस्दै आएको बुझिएको छ ।


No comments:

Post a Comment