Translate

Wednesday, August 20, 2025

सर्लाहीमा सरकारी गाडीको चरम दुरुपयोग / इन्धन सरकारको,काम घरको

 



मनोज यादव---

सर्लाही,भदौ ४ 

जनताको करबाट खरिद गरिएका सरकारी गाडीहरू जनताकै सेवा–सुविधा उपलब्ध गराउनुपर्ने हो । तर सर्लाही जिल्लामा सरकारी गाडीहरू कार्यालय प्रयोजनभन्दा बढी घरायसी काममै प्रयोग भइरहेको पाइएको छ ।
  सर्लाहीका २० स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई कार्यालयको काम छिटो छरितो बनाउन गाडी उपलब्ध गराइएका छन् । तर धेरैजसो गाडी  खेतवारीको कामदेखि किनमेल, बजार घुम्नदेखि विवाह समारोह जस्ता व्यक्तिगत काममा प्रयोग हुने गरेको पाइएको सरोकारवालाको आरोप छ । 
  मानवअधिकार रक्षक सञ्जाल सर्लाहीका संयोजक मुकेश मिश्रका अनुसार सरकारी गाडीहरू प्रायः कर्मचारी तथा जनप्रतिनिधिका आफन्तको व्यक्तिगत प्रयोजनमा समेत प्रयोग हुने गरेको छ । “गाडीमा इन्धन र मर्मत खर्च पालिकाको बजेटबाट हुने तर काम भने घरको हुने गरेको छ,” उनले बताए । यसरी सार्वजनिक सम्पत्तिको दुरुपयोग हुँदा स्थानीयहरूले विरोध गरे पनि सम्बन्धित निकाय मौन बसिरहेको उनको आरोप छ ।
  नेपालको कानुनअनुसार सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइँदैन । सार्वजनिक बिदा वा कार्यक्षेत्रबाहिर प्रयोग गर्नुपर्ने भएमा पनि उच्च अधिकारीको अनुमति आवश्यक पर्छ ।
बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम यादवका अनुसार, “जनताको करबाट खरिद भएको सम्पत्ति घरायसी काममा प्रयोग गर्नु सरासर जनता प्रति विश्वासघात हो । तत्कालै दुरुपयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”
   भर्खरै मात्र कबिलासी नगरपालिका वडा न-१०, सलेमपुरका बासिन्दाहरुले  पुर्वाधार कार्यालय सर्लाहीको सरकारी नम्बर प्लेट भएको गाडी व्यक्तिगत काममा प्रयोग भएको फेला पारेपछि आवश्यक कार्यवाहीको लागि  कबिलासी प्रहरी चौकीको जिम्मा लगाएका थिए।

No comments:

Post a Comment