गोडैतामा इलाका प्रशासन स्थापनाको माग गर्दै स्थानीय जनप्रतिनिधिहरु द्वारा गृह मन्त्रालयको ध्यानाकर्षण
मनोज यादव---
सर्लाही,भदौ १५
सर्लाहीका जनप्रतिनिधिहरूले गोडैता नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल साउन ९ गतेको निर्णयअनुसार सर्लाही जिल्लाका पाँच वटा पालिकाहरु गोडैता,विष्णु,बलरा,रामनगर र धनकौलको लागि बलरा नगरपालिकामा इप्रका स्थापना गर्ने निर्णय भएकोले सो निर्णय पाँचवटै पालिकाको जनताहरुको सेवा ,सुविधा र सुरक्षा हिसाबले अनुपयुक्त रहेको र भारतको सिमाना छेउमै समेत रहेकोले सुरक्षाको हिसाबले पनि संवेदनशील रहेको कारण देखाउँदै स्थानीय जनप्रतिनिधिहरुले ती पाँचवटै पालिकाको बिच भागमा पर्ने गोडैताको वडा न-७ सबै जनताको लागि सहज,उपयुक्त र सुरक्षित सेवा प्रवाह हुने भएकोले सोही स्थानमा इप्रका को स्थापना गरिनुपर्ने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
ध्यानाकर्षण पत्रमा सर्लाही क्षेत्र न-४ का प्रदेशसभा सदस्यद्वय विरेन्द्र प्रसाद सिंह र फकीरा महतो, गोडैता नगरपालिकाकी नगर उपप्रमुख अन्जना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय, तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह लगायतको हस्ताक्षर रहेको छ।
उनीहरूले गोडैतामा प्रशासन कार्यालय स्थापना भएपछि नागरिकलाई सहज र सुरक्षित सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।
No comments:
Post a Comment