Translate

Tuesday, June 30, 2026

हरिवनमा विकास निर्माण तथा वडा गतिविधिको अनुगमन

  


घनश्याम बलम्पाकी----
हरिवन(सर्लाही), असार १६ 

   सर्लाहीको हरिवन नगरपालिका–९ मा आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका विकास निर्माण कार्य तथा वडाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र गतिविधिको मंगलबार स्थलगत अनुगमन गरिएको छ।
   अनुगमन टोलीले सडक, नाला, खानेपानी, भवनलगायत सम्पन्न योजनाहरूको स्थलगत निरीक्षण गर्दै निर्माणको गुणस्तर, उपयोगिता तथा कार्यान्वयन अवस्थाबारे जानकारी लिएको थियो। साथै, वडाले आर्थिक वर्षभर सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा सेवा प्रवाहको अवस्थाबारे समेत समीक्षा गरिएको थियो।
अनुगमनमा हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल), वडा नं. ९ का वडाध्यक्ष कोकिलानन्द उप्रेती, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
   नगरप्रमुख बुढाथोकीले विकास योजनाको गुणस्तर, पारदर्शिता र दिगोपनामा विशेष ध्यान दिनुपर्ने बताउँदै जनताको आवश्यकतालाई केन्द्रमा राखेर योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।


    वडाध्यक्ष उप्रेतीले वडामा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहबारे जानकारी गराउँदै आगामी दिनमा पनि नागरिकको अपेक्षाअनुसार कामलाई निरन्तरता दिइने बताए।
    अनुगमनमा सहभागी सरोकारवालाहरूले विकास आयोजनाको नियमित अनुगमन र मूल्याङ्कनले सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग तथा सुशासन प्रवर्द्धनमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।

Monday, June 29, 2026

बसबरियामा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

 


मधेशदूत संवाददाता----
सर्लाही, असार १५

    सामाजिक विकास केन्द्र नेपाल (SDC Nepal) को आयोजनामा सर्लाहीको बसबरिया गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा सोमबार लागुऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
    संस्थाका कार्यकारी निर्देशक विरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका एसपी अमर बहादुर खत्री, बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित यादव, विद्यालयका प्रधानाध्यापक चन्द्र किशोर राय लगायत शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
   कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा लागुऔषध दुर्व्यसनप्रति सचेतना अभिवृद्धि गर्नुका साथै यसको दुष्प्रभावबारे जानकारी गराई कुलतबाट टाढा रहन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।
   कार्यक्रममा वक्ताहरूले लागुऔषध सेवनले व्यक्ति, परिवार, समाज र राष्ट्रमा पार्ने नकारात्मक प्रभावबारे विस्तृत जानकारी गराउँदै यसको रोकथाम तथा न्यूनीकरणका उपायहरूबारे छलफल गरेका थिए। उनीहरूले विशेष गरी किशोर–किशोरी तथा युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन अभिभावक, विद्यालय, स्थानीय तह र सुरक्षा निकायबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले पनि विभिन्न जिज्ञासा राखेका थिए, जसको सम्बन्धित वक्ताहरूले समाधान गरेका थिए।
  कार्यक्रमका अध्यक्ष तथा SDC Nepal का कार्यकारी निर्देशक विरेन्द्र कुमार गुप्ताले लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई निरन्तरता दिइने बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न र समाजलाई लागुऔषधमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। 


  उहाँले विद्यालय, अभिभावक, स्थानीय सरकार, सुरक्षा निकाय तथा समुदायको संयुक्त प्रयासबाट मात्रै लागुऔषध दुर्व्यसन नियन्त्रण सम्भव हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई सचेत, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो।

Saturday, June 27, 2026

सखुबनीमा २५ लाखभन्दा बढी लागतमा खेल मैदान निर्माण सुरु, मंसिरभित्र सम्पन्न हुने



रितीक अधिकारी
सर्लाही, असार १३

सर्लाहीको इश्वरपुर नगरपालिका–५ सखुबनीमा सखुबनी युवा क्लबको खेल मैदान निर्माणको शिलान्यास गरिएको छ। २५ लाख ६१ हजार ४५१ रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुन लागेको खेल मैदानको शिलान्यास इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले गर्नुभयो।
शिलान्यास कार्यक्रममा नगर प्रमुख आचार्यले स्थानीय युवाको मागलाई प्राथमिकतामा राख्दै खेल पूर्वाधार विकासलाई नगरपालिकाले विशेष महत्व दिएको बताउनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने भएकाले खेलमैदान निर्माणले क्षेत्रको खेल गतिविधि थप सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा सदस्य, स्थानीय युवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको सखुबनी युवा क्लबका अध्यक्ष उमेश आलेले जानकारी दिनुभयो। स्थानीयवासी बिनु श्रेष्ठले खेल मैदान निर्माणपछि युवाले खेलकुदमार्फत नयाँ अवसर पाउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष आलेका अनुसार यस आर्थिक वर्षमा विनियोजित बजेटबाट खेलमैदान सम्याउने, पर्खालसहित घेराबार निर्माणलगायतका काम गरिनेछ। साथै, सखुबनीलाई फुटबलको हबका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले देखाएको सक्रियताप्रति उहाँले आभार व्यक्त गर्नुभयो।


खेलमैदान स्तरोन्नतिको ठेक्का रोशन इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालिले प्राप्त गरेको छ। कम्पनीले भ्याटसहित २५ लाख ६१ हजार ४५१ रुपैयाँ २५ पैसाको लागतमा आगामी मंसिर २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी इश्वरपुर नगरपालिकासँग सम्झौता गरेको छ।
निर्माण कार्य सम्पन्न भएपछि सखुबनी युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरेको अध्यक्ष आलेले जानकारी दिनुभयो।