बसबरियामा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न
मधेशदूत संवाददाता----
सर्लाही, असार १५
सामाजिक विकास केन्द्र नेपाल (SDC Nepal) को आयोजनामा सर्लाहीको बसबरिया गाउँपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा सोमबार लागुऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका कार्यकारी निर्देशक विरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका एसपी अमर बहादुर खत्री, बसबरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित यादव, विद्यालयका प्रधानाध्यापक चन्द्र किशोर राय लगायत शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा लागुऔषध दुर्व्यसनप्रति सचेतना अभिवृद्धि गर्नुका साथै यसको दुष्प्रभावबारे जानकारी गराई कुलतबाट टाढा रहन प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले लागुऔषध सेवनले व्यक्ति, परिवार, समाज र राष्ट्रमा पार्ने नकारात्मक प्रभावबारे विस्तृत जानकारी गराउँदै यसको रोकथाम तथा न्यूनीकरणका उपायहरूबारे छलफल गरेका थिए। उनीहरूले विशेष गरी किशोर–किशोरी तथा युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन अभिभावक, विद्यालय, स्थानीय तह र सुरक्षा निकायबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले पनि विभिन्न जिज्ञासा राखेका थिए, जसको सम्बन्धित वक्ताहरूले समाधान गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा SDC Nepal का कार्यकारी निर्देशक विरेन्द्र कुमार गुप्ताले लागुऔषध दुर्व्यसनविरुद्धको अभियानलाई निरन्तरता दिइने बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न र समाजलाई लागुऔषधमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विद्यालय, अभिभावक, स्थानीय सरकार, सुरक्षा निकाय तथा समुदायको संयुक्त प्रयासबाट मात्रै लागुऔषध दुर्व्यसन नियन्त्रण सम्भव हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई सचेत, अनुशासित र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो।
No comments:
Post a Comment