Translate

Tuesday, June 23, 2026

‘बिना पुर्जी घरमा छिरेर तोडफोड, कुटपिट र पक्राउ गरिएको’ भन्दै अशोक यादवद्वारा मानव अधिकार आयोगमा उजुरी

 


मधेशदूत समाचारदाता---
सर्लाही ,असार ९ 

    सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुर निवासी तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादवले आफू र आफ्नो परिवारमाथि प्रहरीले गैरकानूनी ढंगले दमन गरेको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालय, जनकपुरधाममा उजुरी दिएका छन्।
   यादवले दिएको निवेदनअनुसार मिति २०८३ जेठ २५ गते बिहान करिब ११:३० बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बुढाथोकीको नेतृत्वमा करिब १५० जना प्रहरीको टोली खानतलासी तथा पक्राउ पुर्जीबिनै आफ्नो घरमा प्रवेश गरेको आरोप लगाएका छन्।
   उजुरीमा प्रहरीले गुण्डा शैलीमा घरको बाहिरी तथा भित्री ढोका तोडफोड गरी उनका भतिजा १७ वर्षीय विक्रम यादव र भान्जा १८ वर्षीय प्रियांशु यादवलाई निर्वस्त्र बनाई कुटपिट गर्दै पक्राउ गरेको तथा पछि अभद्र व्यवहार मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ।
   यादवका अनुसार घटनाका क्रममा छिमेकीहरू कामदेव राय, निस्ता राम, सिताराम माझी, सुरेन्द्र राय, इन्दल राय, नरेशी राउत, केदार मण्डल, नैनकुमारी देवी र देवरण देवीको घरमा समेत प्रवेश गरी ढोका–झ्याल तोडफोड गरिएको थियो। इन्दल रायको घरमा तोडफोड रोक्न खोज्दा उनका छोरा सुनिल रायलाई समेत निर्घात कुटपिट गरिएको आरोप निवेदनमा उल्लेख छ।
   यसअघि पनि आफूले मधेश प्रदेशमा हुने विसंगति र अनियमितताविरुद्ध आवाज उठाउँदै आएको तथा २०८२ असार ३२ गते राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयमा समेत उजुरी दर्ता गराएको भन्दै यादवले पुरानो रिसइबीका कारण आफूलाई पुनः दुःख दिने उद्देश्यले झुटा फौजदारी मुद्दा लगाइएको दाबी गरेका छन्।


    यादवले आफू र आफ्नो परिवार असुरक्षित बनेको भन्दै घटनाको स्थलगत अनुगमन, निष्पक्ष छानबिन, ज्यू–ज्यानको सुरक्षा तथा संलग्न प्रहरीमाथि कारबाहीका लागि मानव अधिकार आयोगसँग माग गरेका छन्।
उक्त निवेदनको बोधार्थ राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहर भवन पुल्चोक, ललितपुरलाई समेत दिइएको छ।
(यो समाचार उजुरी निवेदनमा उल्लेख गरिएका दाबीका आधारमा तयार गरिएको हो।)

No comments:

Post a Comment