Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
मिथिला पेन्टिङलाई व्यावसायिक बनाउन जोड, मलंगवामा चारदिने पुनर्ताजगी तालिम सम्पन्न
संतोष कर्ण----
सर्लाही, असार १३
नेपाल मिथिला प्रज्ञा प्रतिष्ठान मलंगवाको आयोजना तथा मलंगवा नगरपालिकाको सहयोगमा सञ्चालन भएको चारदिने मिथिला पेन्टिङ पुनर्ताजगी तालिम शनिबार मलंगवामा सम्पन्न भएको छ।
असार १० गतेदेखि सञ्चालन भएको तालिमको समापन समारोह मलंगवा नगरपालिका–९ का वडा अध्यक्ष चन्देश्वर रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल मिथिला प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, प्रशिक्षक तथा सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले मिथिला पेन्टिङ मिथिला सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर भएकाले यसको संरक्षण, प्रवर्द्धन र व्यावसायिक विकासमा सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले यसलाई केवल घरेलु प्रयोगमा सीमित नराखी आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रह गरे।
मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव तथा वडा नं. ९ का अध्यक्ष रायले स्थानीय कलाकारमार्फत नगरका सार्वजनिक स्थानमा मिथिला पेन्टिङ झल्किने भित्तेचित्र बनाउने र त्यसका लागि स्थानीय कलाकारलाई नै रोजगारी तथा आयआर्जनको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
सहभागीहरूले तालिम उपयोगी रहेको बताउँदै आगामी दिनमा तालिमको अवधि थप बढाउनुपर्ने सुझाव दिएका थिए। समापन कार्यक्रममा सहभागीहरूले तयार पारेका मिथिला चित्रहरूको प्रदर्शनी समेत गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रलाल कर्णका अनुसार सहभागीहरूलाई प्रमाणपत्रसँगै यातायात खर्च पनि प्रदान गरिएको छ। तालिमको संयोजन स्थानीय कलाकार सन्तोष कर्णले गरेका थिए भने काठमाडौंमा मिथिला आर्ट ग्यालरी सञ्चालन गर्दै आएकी खुशी कर्णले प्रशिक्षण दिएकी थिइन्।
No comments:
Post a Comment