चन्द्रनगरमा SEE २०८२ का उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान, निःशुल्क कम्प्युटर कक्षा सञ्चालनको घोषणाति
मधेशदूत समाचारदाता---
सर्लाही,जेठ १
चन्द्रनगर गाउँपालिकाभित्रका तीन वटा सामुदायिक माध्यमिक विद्यालयको एसईई २०८२ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीलाई बिहीबार एक समारोहका बिच सम्मान गरिएको छ। साथै निःशुल्क कम्प्युटर कक्षा सञ्चालनका लागि अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ।
वडा नं. १ किसनपुरस्थित श्री जनता माध्यमिक विद्यालय, वडा नं. २ बबरगन्जस्थित श्री दुर्गा खोभारी जनता माध्यमिक विद्यालय र वडा नं. ६ कामदस्थित श्री मरिची मानेश्वर माध्यमिक विद्यालयले यस वर्ष राम्रो नतिजा ल्याएका छन्। तीमध्ये श्री जनता माध्यमिक विद्यालयले सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको गाउँपालिकाले जनाएको छ।
नाढीमन ताल (यक्षदह) मा आयोजित कार्यक्रममा तीनवटै विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई सम्मान गरिएको हो।
श्री जनता माध्यमिक विद्यालय किशनपुरबाट एकजना विद्यार्थीले A+ ल्याउन सफल भएको छ। चन्द्रनगर गाउँपालिकाबाट यस वर्ष एसईईमा कुल २२२ विद्यार्थी सहभागी भएका मध्ये १०० जना उत्तीर्ण भएका छन्। त्यस्तै A ग्रेड ११ जना, B+ ३६ जना, B ३९ जना र C+ १३ जना विद्यार्थी रहेका छन्।
कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष सीताराम महतो, वडा नं. ४ का राजीव सिंह दनुवार, वडा नं. ६ का राम स्वरूप कुर्मी, शिक्षा शाखा प्रमुख कमला कुमारी बस्नेत लगायत विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , प्रअ,विद्यार्थी ,अभिभावक , पालिकाका कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गर्ने जनाएको छ।
No comments:
Post a Comment