Translate

Sunday, May 10, 2026

पर्सामा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ६६ जनाको आँखाको र १० महिलाको पाठेघरको निःशुल्क अपरेशन हुने

 



मनोज यादव
सर्लाही, बैशाख २८

    हेल्पिङ्ग ह्यान्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसए/नेपालको आर्थिक अनुदान, पर्सा गाउँपालिकाको सहकार्य तथा स्थानीय समाज विकास केन्द्र हरिपुरको सहजीकरणमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं. ६ स्थित पनपिही पोखरी नजिक रहेको श्री माध्यमिक विद्यालयमा आइतबार एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
    शिविरमा मोतियाबिन्दु, महिलाहरूको पाठेघर सम्बन्धी समस्या, दाँत रोग तथा अन्य विभिन्न रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गरिएको थियो। ग्रामीण भेगका स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरबाट ४ सय ५० भन्दा बढी बिरामीले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ।
   स्थानीय समाज विकास केन्द्र हरिपुरका सल्लाहकार टेक बहादुर थापाका अनुसार शिविरबाट पहिचान भएका ६६ जनाको मोतियाबिन्दुको निःशुल्क आँखाको अपरेशन तथा १० जना महिलाको पाठेघर सम्बन्धी अपरेशन गरिनेछ। उहाँले अपरेशनका लागि आवश्यक सम्पूर्ण उपचार, औषधि तथा सेवा निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो।
शिविरअन्तर्गत एमबीबीएस डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, दन्त परीक्षण तथा उपचार, स्त्रीरोग विशेषज्ञद्वारा महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। आवश्यक बिरामीलाई थप उपचारका लागि रेफर गरी निःशुल्क अपरेशनको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ।
   त्यसैगरी मोतियाबिन्दु भएका बिरामीहरूको परीक्षण गरी काठमाडौंस्थित तिलगंगा अस्पतालका आँखा विशेषज्ञमार्फत निःशुल्क अपरेशन, औषधि तथा कालो चस्मा वितरण गरिने जनाइएको छ।
   शिविरको उद्घाटन पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय बिस्पतले गर्नुभएको थियो।
कार्यक्रममा पूर्व मधेश प्रदेश गृहमन्त्री Bimala Ansari, पर्सा गाउँपालिका स्वास्थ्य शाखाका चन्देश्वर साह, प्रधानाध्यापक जितेन्द्र शर्मा, एचएचआरडीका रब्बानी आलम, समाजसेवी, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
   कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहराज्यमन्त्री अन्सारीले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो शिविरले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई प्रत्यक्ष राहत पुगेको बताउनुभयो। उहाँले यस्ता मानवीय तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

No comments:

Post a Comment