शिक्षित छोरीलाई नगद सम्मान, चन्द्रनगरको अभियानले बाल विवाह रोक्ने प्रयास
मनोज यादव---
सर्लाही, जेठ ११
सर्लाहीको चन्द्रनगर गाउँपालिका ले बाल विवाह तथा दाइजो प्रथा न्यूनीकरणका लागि शिक्षालाई आधार बनाएर विशेष अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले उच्च शिक्षा हासिल गरी कानुनी उमेर पुगेपछि विवाह गर्ने छोरीहरूलाई नगद प्रोत्साहन उपलब्ध गराउँदै आएको जनाएको छ ।
आइतबार चन्द्रनगर गाउँपालिका स्थित गौचरनको कर्बड हलमा “बाल विवाह तथा दाइजो प्रथा उन्मूलन” सम्बन्धी आयोजित वृहत सभामा बोल्दै प्रमुख अतिथि रुबी कुमारी ठाकुर ले छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन सके समाजका धेरै विकृति अन्त्य हुने बताइन् । उनले छोरीलाई पनि छोरासरह अवसर दिनुपर्नेमा जोड दिँदै बाल विवाह र दाइजो प्रथा अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रमको अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष राज कुमार महतोले आर्थिक वर्ष २०७९/०८० यता स्नातक तह पूरा गरेर विवाह गरेका ७१ जना छोरीलाई जनही ५० हजार रुपैयाँ तथा कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पूरा गरेर विवाह गरेका ८८ जनालाई जनही ११ हजार रुपैयाँ प्रोत्साहनस्वरूप वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्की, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र महतो कुशवाहा लगायतले बाल विवाह र दाइजो प्रथा समाजका गम्भीर समस्या भएकाले यसको अन्त्यका लागि सामूहिक सचेतना आवश्यक रहेको बताए ।
“बाल विवाह, जिन्दगी तबाह ,दाइजो हटाऔं, छोरी बचाऔं” भन्ने नारासहित सम्पन्न कार्यक्रममा उपसभामुख ठाकुरले लाभग्राही छोरीहरूलाई सम्मानपत्रसहित सम्मान गरेकी थिइन् । कार्यक्रममा महिला समूह, युवा, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहले जानकारी दिए ।
No comments:
Post a Comment