Translate

Sunday, May 24, 2026

महिलाको स्वास्थ्य सुरक्षाका लागि मलंगवा नगरपालिकाको विशेष अभियान

 

दुई दिने स्वास्थ्य शिविरमा क्यान्सर स्क्रिनिङदेखि मनोपरामर्शसम्म

मधेशदूत समाचारदाता---
सर्लाही, जेठ ११

   मलंगवा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविर आइतबार मलंगवामा सम्पन्न भएको छ।
   शनिबारदेखि सञ्चालन भएको उक्त शिविरमा १५१ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। जसमध्ये २ जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित समस्या फेला परेको स्वास्थ्य शाखाले जनाएको छ।
   शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रञ्जित कुमार साह, नर्सिङ अधिकृत रिंकु कुमारी सहित तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो।  नगर कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको उक्त शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षणसँगै परामर्श सेवा पनि प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक विष्णु कान्त साहले जानकारी दिएका छन्।
   उनका अनुसार शिविरमार्फत स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, आङ खस्ने समस्याको परीक्षण तथा व्यवस्थापन, यौन तथा प्रजनन रोगको जाँच, परिवार योजना सेवा (कण्डम, पिल्स, डिपो, इम्प्लान्ट र आईयूसीडी), थर्मोकोगुलेसन सेवा, सुरक्षित गर्भपतन सेवा, लैङ्गिक हिंसा सम्बन्धी जानकारी, जडीबुटीसम्बन्धी जानकारी तथा मनोपरामर्श सेवा उपलब्ध गराइएको थियो।

No comments:

Post a Comment