कौडेनामा धर्मान्तरणको प्रयास विफल, हिन्दू सम्राट सेनाको कडा हस्तक्षेप
मधेशदूत समाचारदाता
सर्लाही, बैशाख २८
सर्लाहीको कौडेना नगरपालिका–१ सुखचैना गाउँस्थित नदी किनारको एक दलित बस्तीमा कथित रूपमा भइरहेको धर्मान्तरणको प्रयासलाई हिन्दू सम्राट सेना नेपालले विफल पारेको दाबी गरेको छ।
शनिबार बाहिरबाट आएका केही इसाई मिसनरीसँग आबद्ध व्यक्तिहरूले स्थानीय दलित महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोजेको सूचना पाएपछि हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको बताइएको छ।
हिन्दू सम्राट सेनाका अनुसार टोली पुगेपछि धर्मान्तरणसम्बन्धी गतिविधि तत्काल रोकाइएको थियो। साथै त्यहाँ वितरणका लागि ल्याइएका धार्मिक पुस्तक तथा सामग्री नियन्त्रणमा लिइएको र संलग्न व्यक्तिहरूलाई कडा चेतावनी दिएर फर्काइएको दाबी गरिएको छ।
घटनापछि हिन्दू सम्राट सेनाको टोलीले स्थानीय महिलाहरूसँग छलफल गर्दै हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षणबारे जनचेतना फैलाएको जनाएको छ। “आफ्नो पुर्खाको धर्म, संस्कार र पहिचान जोगाउनु सबैको दायित्व हो,” भन्दै स्थानीयलाई कुनै पनि प्रलोभनमा नपर्न आग्रह गरिएको थियो।
स्थानीय बासिन्दाले हिन्दू सम्राट सेनाको कदमको स्वागत गर्दै गाउँमा जबरजस्ती वा प्रलोभनमार्फत हुने धर्मान्तरणविरुद्ध सजग रहने बताएका छन्।
यद्यपि घटनाबारे प्रहरी प्रशासनबाट आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। घटनाको सत्यतथ्यबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने र अभ्यास गर्ने अधिकार सुनिश्चित गरेको भए पनि जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन भने कानुनले निषेध गरेको छ।
No comments:
Post a Comment