मलंगवा बजारमा सार्वजनिक शौचालयको अभाव : महिला, बटुवा र व्यवसायी सबै मारमा
मनोज यादव----
सर्लाही,जेठ १८
सर्लाहीको सदरमुकाम तथा मुख्य व्यापारिक केन्द्र मलंगवा बजारमा सार्वजनिक शौचालय नहुँदा स्थानीय व्यवसायी, सेवाग्राही, बटुवा तथा बाहिरबाट आउने सर्वसाधारणलाई दैनिक रूपमा सास्ती खेप्नुपरेको छ। विशेषगरी महिलाहरू शौच तथा पिसाब गर्न सुरक्षित र व्यवस्थित स्थान नपाउँदा बढी समस्यामा परेका छन्।
विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल तथा व्यापारिक प्रतिष्ठान रहेको मलंगवा बजारमा दैनिक हजारौं मानिसको आवतजावत हुने गर्छ। तर बजार क्षेत्रमा सर्वसाधारणका लागि पर्याप्त सार्वजनिक शौचालय नहुँदा नागरिकहरू समस्यामा परेका हुन्।
स्थानीयका अनुसार शौचालयको अभावका कारण कतिपय मानिसहरू खुला स्थान, खाली जग्गा वा सार्वजनिक संरचनाको वरिपरि दिसापिसाब गर्न बाध्य छन्। यसले बजारको सरसफाइ तथा वातावरणीय स्वच्छतामा समेत नकारात्मक प्रभाव पारेको छ।
मलंगवा बजारमा व्यवसाय गर्दै आएका व्यापारी सुनिल कुमार भन्छन्, “बजारमा दैनिक धेरै ग्राहकहरु आउँछन्। शौचालय खोज्दै हिँड्ने अवस्था छ। विशेष गरी महिला ग्राहकलाई धेरै असहज हुन्छ। नगरपालिका र सम्बन्धित निकायले सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनुपर्छ।”
यस्तै, बाहिरबाट काम विशेषले मलंगवा आएका सन्तोष यादवले सार्वजनिक शौचालयको अभावले आफूहरूलाई हैरानी हुने गरेको बताए। “सदरमुकाममै यस्तो अवस्था हुनु दुःखद हो। आवश्यक पर्दा प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालय भेटिँदैन,” उनले भने।
एक महिला अधिकारकर्मीका अनुसार सार्वजनिक शौचालयको अभाव महिलाको स्वास्थ्य, सुरक्षा र सम्मानसँग जोडिएको विषय हो। “महिलाहरू लामो समयसम्म पिसाब रोक्न बाध्य हुन्छन्। यसले स्वास्थ्यमा असर पर्न सक्छ। सार्वजनिक स्थानमा महिला मैत्री शौचालयको व्यवस्था हुनु अत्यावश्यक छ,” उनले बताइन्।
स्थानीय शिक्षक राज किशोर रायका अनुसार मलंगवा बजारमा आधुनिक र व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्न सके बजारको सरसफाइ तथा नागरिक सुविधामा ठूलो सुधार आउनेछ। “नगरपालिकाले बजारका मुख्य चोक तथा भीडभाड हुने स्थानमा सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले सुझाव दिए।
स्थानीयवासीहरूले नगर भित्रका सबै बसपार्क, नगरपालिका चौक(मेन चौक),बालमन्दिर चौक ,जिल्ला अदालत आसपास,शिवसागर चौक, अस्पताल क्षेत्र तथा विद्युत प्राधिकरण कार्यालय नजिक महिला तथा पुरुषका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय निर्माण गर्न माग गरेका छन्।
सार्वजनिक शौचालय जस्तो आधारभूत सुविधा नहुँदा जिल्लाको सदरमुकाम नै असहज अवस्थाबाट गुज्रिरहेको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूको भनाइमा स्वच्छ, सुरक्षित र व्यवस्थित बजार निर्माणका लागि सार्वजनिक शौचालयको व्यवस्था अब टार्न नसकिने आवश्यकता बनेको छ।
No comments:
Post a Comment