मधेशमा चुलो बाल्न अझै गुइँठाको प्रयोग
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख ३१
तराई क्षेत्रका अधिकांश गाउँमा खाना पकाउने ग्यासको प्रयोग बढे पनि मधेश प्रदेशको सर्लाही जिल्लामा भने गोबर सुकाएर बनाइने गुइँठाबाट खाना पकाउने प्रचलनमा कमी आएको छैन ।
गाईभैँसी पाल्ने घरका महिला त्यही गाईभैँसीको गोबर सुकाएर गुइँठा बनाई खाना पकाउने गरेका छन् । खाना पकाउने ग्याँसको मूल्य बढिरहने हुँदा यस क्षेत्रका महिलाले पछिल्लो समय गुइँठाको प्रयोग अझै बढाएको बताउँछन् ।
गाउँका महिलाहरु गाईभैँसीको गोबरबाट गुइँठा बनाएर खाना पकाउँदा ग्यासभन्दा धेरै सस्तो पर्ने गरेको बताउँछन् ।
तराईमा गुइँठाबाट खाना पकाउने प्रचलन पुरानै हो । सो प्रचलनलाई ग्यास र इलेक्ट्रिक चुलोले पनि विस्थापित गर्न सकेको छैन । कबिलासी नगरपालिका वडा न-९,सलेमपुरका वडाअध्यक्ष रामदिनेश रायले अहिले पनि गाउँघरका महिलाहरुले खाना पकाउनको लागि गोबरको गुइँठाको प्रयोग गरिरहेको बताए।
उनले गाउँका कतिपय महिला अझै पनि खाना पकाउने ग्यास प्रयोग गरेर खाना पकाउन असहज मान्ने गरेको बताउनुभयो । गुइँठाबाट खाना पकाउँदा खानाको स्वादसमेत मिठो हुने भएकाले गुइँठा प्रयोगमा कमी नआएको उनले बताए ।
No comments:
Post a Comment