Translate

Friday, May 15, 2026

हरिपुरमा-५ मा इट्टा भट्टाको चयाङ खस्दा तीन जनाको मृत्यु, दुई घाइते

 


मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १

सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा इट्टाको चयाङ (प्रखाल) खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल खसेर काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। घटनापछि स्थानीयवासी तथा प्रहरीको टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो।
दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका अन्दाजी ५० वर्षीय फिताई मन्सुर, गोडैता–९ का अन्दाजी ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर निवासी अन्दाजी ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनीहरूलाई मृत घोषणा गरिएको थियो।
त्यसैगरी मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेलको कमाण्डमा गएको टोलीले उद्धार कार्य गरेको थियो। घटनास्थलमा JCB प्रयोग गरी थप खोज तथा पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment