Translate

Sunday, May 10, 2026

सर्लाहीमा पत्रकार आचारसंहिता उल्लंघन बढ्दै गएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

  


मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख २७

     नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जिल्लामा पछिल्लो समय पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाका सचिव सोम दियाली द्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठ्ने गतिविधि बढेको उल्लेख गरिएको छ।
   महासंघले सत्य, तथ्य र निष्पक्ष पत्रकारिताका लागि विगतदेखि नै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै आएको भए पनि अपेक्षित सुधार आउन नसकेको जनाएको छ।
विज्ञप्तिमा हालै जिल्लाकै पहिलो रेडियो स्टेशन सामुदायिक रेडियो सर्लाही मा चट्याङ परेको भन्दै एआईमार्फत बनाइएको भ्रामक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाइएको घटनाप्रति पनि आपत्ति जनाइएको छ। उक्त तस्वीर वास्तविक नभई कपोकल्पित रहेको पुष्टि भइसकेको महासंघले जनाएको छ।
   त्यस्तै, जनज्योति माध्यमिक विद्यालय ले चर्को शुल्क लिएको भन्दै एक युट्युबरले केही अभिभावकको भनाइलाई आधार बनाएर भिडियो सामग्री सार्वजनिक गरेको उल्लेख गर्दै महासंघले सम्बन्धित विद्यालयले त्यसको आधिकारिक खण्डन गरिसकेको तथा लालबन्दी नगरपालिका ले समेत विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको जनाएको छ।
महासंघका अनुसार यस्ता गतिविधिले पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथि गम्भीर असर पार्नुका साथै श्रमजीवी तथा क्रियाशील पत्रकारहरू समेत अनावश्यक रूपमा बदनाम हुनुपर्ने अवस्था सिर्जना गरेको छ।
    विज्ञप्तिमा पछिल्लो समय पत्रकारको नाम प्रयोग गरी उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउने, हप्ता असुल्ने, डर-त्रास देखाउने तथा स्थानीय शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि बढ्दै गएको सूचनासमेत प्राप्त भइरहेको उल्लेख गरिएको छ। पत्रकारिताको सामान्य ज्ञान तथा पेशागत मर्यादा नै नबुझी आफूलाई पत्रकार भनेर चिनाउने प्रवृत्ति अत्यन्तै खतरनाक, दुःखद र निन्दनीय भएको महासंघको भनाइ छ।
महासंघले जिल्लाका सबै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई तथ्य, प्रमाण र सन्तुलनका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, एकपक्षीय, कपोकल्पित तथा भ्रामक सामग्रीबाट समाजमा भ्रम सिर्जना हुने र सम्बन्धित व्यक्ति वा संस्थाको प्रतिष्ठामा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधिबाट सचेत रहनुपर्ने जनाएको छ।
   त्यस्तै, पत्रकार हुँ भन्दै अभद्र व्यवहार गर्ने, धम्की दिने वा रकम असुल्न खोज्ने व्यक्तिप्रति सचेत रहन आम नागरिक, व्यापारी तथा सरोकारवालासँग महासंघले आग्रह गरेको छ। आवश्यक परे त्यस्ता व्यक्तिको आधिकारिक परिचयपत्र माग गरी प्रशासन तथा सुरक्षा निकायमा जानकारी गराउन समेत अपिल गरिएको छ।
    महासंघले नेपालको लोकतान्त्रिक आन्दोलन तथा विभिन्न राजनीतिक–सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताले ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउन सबै पक्ष सजग र जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

No comments:

Post a Comment