Translate

Sunday, May 3, 2026

नाढीमन तालमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न, ‘मोहर’ उत्कृष्ट फिल्म घोषित

  


मधेशदूत समाचारदाता----
सर्लाही, वैशाख २०

   मधेश प्रदेशकै ठूलाे प्राकृतिक ताल नाढीमन ताल परिसरमा आयोजित पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। उक्त महोत्सव तीन दिनसम्म सञ्चालन भएको थियो।
    सेलिब्रेटी नेपालको आयोजना तथा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा आयोजित महोत्सवमा नेपालीसहित विभिन्न भाषाका १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए। साथै, विभिन्न जातजातिका सांस्कृतिक भेषभूषा झल्काउने झाँकी प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
समापन समारोहमा उत्कृष्ट फिल्मको अवार्ड ‘मोहर’ ले जित्यो भने उत्कृष्ट निर्देशक ओम प्रतीक गुरुङ (मोहर) घोषित भए। त्यस्तै, उत्कृष्ट अभिनेतामा नाजीर हुसेन (गुन्युचोलो) र उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्त (कोशेढुंगा) पुरस्कृत भए।


    उत्कृष्ट स्क्रिनप्लेमा समुन्द्र भट्ट र नाजीर हुसेन (गुन्युचोलो), जुरी अवार्ड निर्देशकमा मिलन तामाङ (माइतीघर), इन्करेजमेन्ट अवार्डमा मन्जिल कुमार (कोशेढुंगा) सम्मानित भए।
यसैगरी, उत्कृष्ट सम्पादकमा नहकुल खड्क, उत्कृष्ट छायाँकारमा बाबु श्रेष्ठ (दुवै ‘कोशेढुंगा’), उत्कृष्ट आदिवासी फिल्म निर्देशकमा किरण राई (नाक्छोंग) र उत्कृष्ट सर्ट फिल्म निर्देशकमा निर्मल पौडेल (निलो आकाश) पुरस्कृत भएका छन्।
   मधेशका कथा, संस्कृति र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सवमा विभिन्न संवाद कार्यक्रमहरू समेत सम्पन्न भएका थिए। वक्ताहरूले यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनसँगै चलचित्र छायांकनको सम्भावना उजागर गर्ने धारणा व्यक्त गरेका थिए।
   समापन समारोह सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा चलचित्र निर्माता छविराज ओझा, जिल्ला समन्वय समितिका उपप्रमुख जीतेन्द्र कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियारलगायतको उपस्थिति रहेको थियो।
   कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सर्लाहीमा यस्ता महोत्सव नियमित रूपमा आयोजना हुनुपर्नेमा जोड दिँदै यसले स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्‍याएको बताए।
    पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको यस पाँचौँ संस्करणको महोत्सवले नेपाली चलचित्रको प्रवर्द्धनसँगै नाढीमन ताल र आसपासका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।
    कार्यक्रमको समापन चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहले धन्यवाद ज्ञापनसहित गरेका थिए।

No comments:

Post a Comment