मलंगवामा प्रजनन स्वास्थ्य निःशुल्क शिविर सुरु, पहिलो दिन ६१ महिलाको जाँच
मधेशदूत समाचारदाता---
सर्लाही,जेठ १०
मलंगवा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी निःशुल्क शिविर शुक्रबारदेखि मलंगवामा सुरु भएको छ।
शिविरको उद्घाटन नगर प्रमुख नागेन्द्र प्रसाद यादवले गर्नुभएको हो।
शनिबारसम्म सञ्चालन हुने उक्त शिविरको पहिलो दिनमै ६१ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रञ्जित कुमार साहसहित तालिमप्राप्त नर्सिङ कर्मचारीहरूको टोलीले सेवा प्रदान गरिरहेको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नगर कार्यपालिकाको कार्यालयमा सञ्चालन भइरहेको शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिइँदै आएको छ।
शिविरमार्फत स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, आङ खस्ने समस्याको परीक्षण तथा व्यवस्थापन, यौन तथा प्रजनन रोगको जाँच, परिवार योजना सेवा (कण्डम, पिल्स, डिपो, इम्प्लान्ट र आईयूसीडी), थर्मोकोगुलेसन सेवा, सुरक्षित गर्भपतन सेवा, लैङ्गिक हिंसा सम्बन्धी जानकारी, जडीबुटीसम्बन्धी जानकारी तथा मनोपरामर्श सेवा उपलब्ध गराइएको छ।
स्वास्थ्य शाखा संयोजक विष्णु कान्त साहका अनुसार शिविरले ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरूलाई प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
No comments:
Post a Comment