Translate

Tuesday, May 12, 2026

सरकारी लगानी ‘बालुवामा पानी’ : लालबन्दीमा लाखौं खर्चेर बनेको किरियापुत्री भवन असामाजिक गतिविधिको केन्द्र

 



मधेशदूत समाचारदाता

सर्लाही, वैशाख ३०

   नेपाल सरकारको करिब १५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको लालबन्दी नगरपालिका–५ मेजरगन्ज झिरझिरेस्थित किरियापुत्री भवन प्रयोगमै नआउँदै जीर्ण बनेको छ। स्थानीयले उक्त भवन अहिले असामाजिक गतिविधि, लागुऔषध सेवन र फोहोर फाल्ने ‘हटस्पट’ बनेको आरोप लगाएका छन्।
करिब चार वर्षअघि जरुवा किनारमा निर्माण गरिएको उक्त भवन मृतकका आफन्तले १३ दिने काजकिरियाका लागि प्रयोग गर्ने उद्देश्यले बनाइएको भए पनि हालसम्म एक पटक पनि औपचारिक प्रयोग नभएको स्थानीयको भनाइ छ। उपयोगविहीन संरचना क्रमशः भत्किँदै जानुका साथै तोडफोड र चोरीका घटनासमेत बढ्दै गएको उनीहरू बताउँछन्।
स्थानीयका अनुसार भवन परिसर अहिले लागुऔषध सेवन गर्नेहरूको अखाडा बनेको छ भने वरिपरि फोहोर फाल्ने काम समेत तीव्र रूपमा भइरहेको छ। ऐतिहासिक जरुवा क्षेत्र समेत खुला डम्पिङ साइटमा परिणत हुँदा वातावरणीय जोखिम बढेको स्थानीयको गुनासो छ।
“नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन,” स्थानीयले बताएका छन्।
यसैबीच, जरुवाबाट आउने पानीमा फोहोर मिसिँदा त्यसमा निर्भर किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्। वर्षभरि रसाउने पानीको मुहान अहिले अवरुद्ध हुने अवस्थामा पुगेको किसानहरूको भनाइ छ।
वडा नं. ५ का वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले उक्त भवन आफू निर्वाचित हुनुअघि नै निर्माण भएको र हालको अवस्थाबारे विस्तृत जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
यता, जरुवापानी मुहान संरक्षण समितिका अध्यक्ष केशव पोखरेलका अनुसार रातको समयमा फोहोर फाल्ने र तोडफोड गर्ने गतिविधिले समस्या झनै गम्भीर बनेको छ।
स्थानीयले सरकारी संरचना संरक्षण नगरी बेवारिसे छोडिनु राज्यको गम्भीर असफलता भएको भन्दै तत्काल संरक्षण र व्यवस्थापनको माग गरेका छन्।

No comments:

Post a Comment