सलेमपुरमा सम्पन्न निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट दर्जनौं महिलाको पाठेघर परीक्षण
सलेमपुरमा सम्पन्न निःशुल्क प्रजनन स्वास्थ्य शिविरबाट दर्जनौं महिलाको पाठेघर परीक्षण
मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख १७
कबिलासी नगरपालिका–९, सलेमपुरस्थित स्वास्थ्य चौकीमा बुधबार प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ्ग तथा व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कबिलासी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविर वडाअध्यक्ष राम दिनेश रायको अध्यक्षतामा सञ्चालन भएको थियो भने नगर उपप्रमुख पुनम कर्णले उद्घाटन गर्नुभएको थियो।
शिविरमार्फत कुल ८१ जनाले ओपिडी सेवा लिएका छन्। स्वास्थ्य चौकी सलेमपुरका प्रमुख विजय कुमार रामका अनुसार ६० जना महिलाको पाठेघर (गर्भाशय) सम्बन्धी जाँच गरिएको, ६ जनाले परिवार नियोजन सेवा लिएको, १० जनामा रिंग पेसरी राखिएको तथा २५ जनाको यौन सम्पर्कबाट सर्ने संक्रमण (एसटिआई) को परीक्षण गरिएको छ।
शिविरमा आएका बिरामीहरूको जाँच मेरी स्टोप्स लालबन्दीकी सम्झना तथा हरिवनकी प्रतिमासहितका स्वास्थ्यकर्मीहरूको टोलीले गरेका थिए । शिविरमा पहिचान भएका जटिल समस्याका बिरामीहरूलाई थप उपचारको व्यवस्था गरिने उपप्रमुख कर्णले जानकारी दिनुभयो।
शिविरको उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखाका जगरनाथ राय, नितु साह, मलंगवा प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सचिन यादव, कम्प्युटर अपरेटर मुकेश यादव तथा स्वास्थ्य चौकी सलेमपुरका गजेन्द्र कुमार पंडित, कञ्चन कुमारी, मौसम कुमारी यादव, प्रमोद चौधरी, भागनारायण राय र रेणु रजक लगायतको उपस्थिति रहेको थियो।
यस प्रकारको स्वास्थ्य शिविर सलेमपुरपछि कबिलासी नगरपालिकाका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जनाइएको छ।
No comments:
Post a Comment