निजी विद्यालयको मनपरी पाठ्यपुस्तक परिवर्तनले अभिभावक मारमा, सुधारको माग
मधेशदूत समाचारदाता----
सर्लाही, बैशाख ९

जिल्लामा सञ्चालित संस्थागत (निजी) विद्यालयहरूले प्रत्येक नयाँ शैक्षिक सत्रमा बिना ठोस आधार पाठ्यपुस्तकको पब्लिकेसन परिवर्तन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसको सुधारको माग उठेको छ। यस विषयमा हिन्दू सम्राट नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा औपचारिक ध्यानाकर्षण गराएको छ।
केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै पेश गरेको निवेदनमा निजी विद्यालयहरूको यस्तो अभ्यासले अभिभावकहरूलाई अनावश्यक आर्थिक भार थपिएको उल्लेख गरिएको छ। बारम्बार पब्लिकेसन परिवर्तन हुँदा अघिल्लो वर्षका पुस्तकहरू प्रयोगविहीन बन्ने र अभिभावकले हरेक वर्ष नयाँ पुस्तक किन्न बाध्य हुने अवस्था सिर्जना भएको उनले जनाएका छन्।
निवेदनमा नर्सरीदेखि कक्षा ५ सम्मका साना बालबालिकालाई समेत ८–९ वटा विषय समावेश गराएर अत्यधिक पाठ्यभार थोपर्ने गरिएकोप्रति चिन्ता व्यक्त गरिएको छ। प्रत्येक विषयका लागि छुट्टाछुट्टै मोटो पुस्तक तथा अभ्यास पुस्तिका बोक्नुपर्दा बालबालिकाको स्कुल ब्याग अत्यधिक भारी हुने र यसले उनीहरूको शारीरिक विकास तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ।
यस समस्यालाई मध्यनजर गर्दै सनातनीले विद्यालयहरूमा अनिवार्य रूपमा पाठ्यभार कटौती गर्न, निश्चित अवधिसम्म पब्लिकेसन परिवर्तन गर्न नपाइने व्यवस्था लागू गर्न तथा विद्यालयको नियमित अनुगमन गरी ब्यागको तौल घटाउनेतर्फ आवश्यक निर्देशन दिन प्रशासनसँग माग गरेका छन्।
स्थानीय अभिभावकहरू पनि यस्तै समस्याबाट पीडित रहेको बताउँदै सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
No comments:
Post a Comment