विदेशी नम्बर प्लेटका सवारी साधनमा कडाइ : नियम उल्लंघन गरे जफतसम्म हुने चेतावनी
मनोज यादव----
सर्लाही, चैत २७
जिल्ला प्रहरी कार्यालय सर्लाहीले विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनसम्बन्धी कानुनी व्यवस्था स्पष्ट गर्दै नियम उल्लंघन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै “भन्सार महशुल ऐन २०८१” र “सवारी तथा यातायात व्यवस्था ऐन २०४९” मा रहेका प्रावधानबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार नेपालमा विदेशी सवारी साधन सञ्चालन गर्न अनिवार्य रूपमा भन्सार अनुमति लिनुपर्नेछ। अनुमति लिएर सञ्चालन गर्दा मोटरसाइकल वा स्कुटरका लागि दैनिक २०० रुपैयाँ, तीनपाङ्ग्रे सवारीका लागि ४०० रुपैयाँ तथा कार, जीप वा भ्यानका लागि दैनिक ६०० रुपैयाँ एकमुष्ट शुल्क लाग्ने व्यवस्था छ।
त्यस्तै, भन्सार शुल्क तिरेका सवारी साधन एक आर्थिक वर्षमा बढीमा ३० दिनसम्म मात्र नेपालमा सञ्चालन गर्न पाइनेछ। तोकिएको समयभन्दा बढी बसोबास गरेमा मोटरसाइकल वा स्कुटरलाई दैनिक १,२०० रुपैयाँ र अन्य सवारी साधनलाई दैनिक २,५०० रुपैयाँ जरिवाना लाग्ने जनाइएको छ।
प्रहरीले भन्सार शुल्क नतिरी सात दिनभन्दा बढी नेपालमा रहेका विदेशी सवारी साधन पूर्ण रूपमा जफत गर्न सकिने चेतावनी दिएको छ। साथै, बिना अनुमति नेपाल प्रवेश गराई सञ्चालन गरिएका विदेशी नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरीले ५,००० रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको उल्लेख गरिएको छ। विशेष अवस्थामा नजिकको बजार (सर्लाहीका लागि मलंगवा बजार) सम्म आएर सोही दिन फर्किने सवारी साधनलाई भने भन्सार शुल्क नलाग्ने, तर भन्सार कार्यालयबाट आवश्यक निस्सा लिनुपर्ने व्यवस्था रहेको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी विशाल बहादुर बुढाथोकीले नियम विपरीत विदेशी सवारी साधन प्रयोग नगर्न आग्रह गर्दै यस्तो गरेको पाइएमा आर्थिक जरिवाना तथा सवारी जफत हुन सक्ने चेतावनी दिएका छन्।
No comments:
Post a Comment