Translate

Friday, April 24, 2026

सर्लाहीको मलंगवामा ट्राफिक सक्रिय, सवारीसाधनका नम्बर प्लेट पुनर्लेखन

  



मधेशदूत समाचारदाता----
सर्लाही, बैशाख ११

    सदरमुकाम मलंगवा लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारीसाधनका अस्पष्ट नम्बर प्लेटहरू पुनर्लेखन गर्ने अभियान सुरु गरेको छ। बिहीबार मलंगवा बजार क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत फिका देखिएका, मेटिएका तथा नियमविपरीत ढङ्गले लेखिएका नम्बर प्लेटहरूलाई स्पष्ट र विधिसम्मत रूपमा पुनर्लेखन गरिएको ट्राफिक प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
    ट्राफिक प्रहरीका अनुसार सवारीसाधनका नम्बर प्लेट मेटिनु, ढुसी लाग्नु वा अस्पष्ट हुनुका कारण सवारी व्यवस्थापन तथा पहिचानमा समस्या देखिएकाले यस्तो अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत सवारीसाधनका अगाडि र पछाडि दुवै नम्बर प्लेट अनिवार्य रूपमा स्पष्ट हुने गरी सुधार गरिएको छ।
   सो अवसरमा चालक तथा सवारीधनीलाई ट्राफिक नियम, नम्बर प्लेटको कानुनी महत्त्व र यसको प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो। साथै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन सचेत समेत गराइएको प्रहरीले जनाएको छ।
   ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज ट्राफिक प्रहरी सहायक निरिक्षक रवीन्द्र खडकाका अनुसार स्पष्ट नम्बर प्लेट केवल कानुनको पालना मात्र नभई सडक सुरक्षा, दुर्घटना नियन्त्रण, अपराध अनुसन्धान तथा सवारी व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यसबाट  यातायात प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment