सर्लाहीमा एक महिनामै १३२ अपराध दर्ता, ९६ प्रतिवादी पक्राउ
मधेशदूत समाचारदाता----
मलंगवा, वैशाख ४
जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै एक महिनामा कुल १३२ वटा अपराध दर्ता भएको जनाएको छ। सार्वजनिक विवरणअनुसार प्रहरीले सो अवधिमा ९६ जना प्रतिवादी पक्राउ गर्न सफल भएको छ।
प्रहरीका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यान लगायत विभिन्न प्रकृतिका अपराधहरू दर्ता भएका छन्। त्यस्तै, जघन्य तथा गम्भीर अपराध अन्तर्गत बैंकिङ कसूर, जुवातास, ठगी र हातहतियारसम्बन्धी गरी ३५ वटा मुद्दा दर्ता भएका छन्।
चालु मुद्दाहरूको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरीले १५ वटा पेण्डिङ मुद्दा सबै फछ्र्योट गरेको जनाएको छ। फैसला कार्यान्वयनतर्फ ५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा सबैभन्दा बढी २६–४० वर्ष उमेर समूहका पीडित रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै, हराएका ३२ जना विभिन्न उमेर समूहका व्यक्तिहरूमध्ये १६ जना फेला पारिएको प्रहरीले जनाएको छ।
घरेलु हिंसाका ३६ उजुरी दर्ता भएकोमा २२ वटा मिलापत्र गरिएको छ। लागूऔषध नियन्त्रणतर्फ प्रहरीले ३७३.९५० केजी गाँजा सहित अन्य लागूऔषध बरामद गर्दै ८ जना पक्राउ गरेको छ।
यसैबीच, चैत महिनामा १८ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। आत्महत्याका घटना विशेषगरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको छ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीले व्यापक रूपमा गस्ती र चेकजाँच सञ्चालन गरेको छ। विवरणअनुसार एक महिनामा ९,२१० वटा ड्युटी परिचालन गर्दै १८,४२० जना जनशक्ति परिचालन गरिएको छ।
सवारी दुर्घटनातर्फ चैत महिनामा ९६ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन्। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको प्रहरीको विश्लेषण छ। ट्राफिक कारवाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
त्यसैगरी, राजश्व चुहावट नियन्त्रणका क्रममा करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने अवैध मदिरा नियन्त्रणमा ८० लिटर मदिरा बरामद गरिएको छ।
प्रहरीले अपराध न्यूनीकरणका लागि चेकिङ, गस्ती, ट्राफिक सचेतना, विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई थप कडाइका साथ अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार समुदाय–प्रहरी सहकार्यलाई सुदृढ गर्दै आगामी दिनमा अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाइने छ।
No comments:
Post a Comment