Translate

Wednesday, April 29, 2026

भारतीय सवारीसाधनमाथि दोहोरो शुल्कको गुनासो, सेवाग्राही आक्रोशित

  

मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख १६

    भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्ने क्रममा सेवाग्राहीले दोहोरो शुल्क तिर्नु परेको भन्दै गम्भीर गुनासो गरेका छन्। भन्सार प्रक्रिया पूरा गर्दा ३ दिनका लागि रु. १८०० तिरेर अनुमति लिइसकेपछि पनि यातायात व्यवस्था कार्यालय मलंगवाबाट थप अनुमति लिन रु. ५१० तिर्नुपर्ने बाध्यता आएको एक भारतीय सेवाग्राहीको भनाइ छ।


   एउटै सवारीसाधनलाई छोटो अवधिका लागि प्रयोग गर्दा विभिन्न निकायबाट छुट्टाछुट्टै शुल्क लिइनु न्यायोचित नभएको सेवाग्राहीहरूको गुनासो छ। उनीहरूका अनुसार यस्तो प्रक्रिया अनावश्यक झन्झटपूर्ण मात्र नभई सर्वसाधारणमाथि थप आर्थिक भार पार्ने खालको छ।
   सेवाग्राहीहरू भन्छन्, “भन्सारमै शुल्क तिरेर अनुमति लिइसकेपछि फेरि अर्को कार्यालयमा गएर शुल्क तिर्नुपर्ने अवस्था किन आयो? यसले जनतालाई सास्ती मात्र दिएको छ।”
यस किसिमको दोहोरो शुल्क प्रणालीले सरकारी निकायप्रति आम नागरिकको विश्वास कमजोर बनाउने खतरा समेत देखिएको छ। सेवाग्राहीहरूले सम्बन्धित निकायलाई शुल्क प्रणाली पारदर्शी, सरल र जनमैत्री बनाउन आग्रह गरेका छन्।   


   सम्बन्धित निकायबाट यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ। यदि यस्ता समस्या समाधान नगरेमा यसलाई आमजनतामाथि अप्रत्यक्ष आर्थिक शोषणका रूपमा लिइन सक्ने सरोकारवालाहरूको चेतावनी छ।

No comments:

Post a Comment