मलंगवामा शिक्षा क्षेत्रमा दिगो लगानीका लागि सरोकारवालाबीच संवाद
मधेशदूत समाचारदाता
सर्लाही, बैशाख १४
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह (GAWE) 2026 को सन्दर्भमा सार्वजनिक शिक्षामा दिगो, पर्याप्त र न्यायपूर्ण लगानी सुनिश्चित गर्ने उद्देश्यसहित स्थानीय सरकार र शैक्षिक सरोकारवालाबीच महत्वपूर्ण संवाद कार्यक्रम आइतबार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) को आयोजनामा तथा जिल्ला समन्वय समिति सर्लाहीको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय तहको आन्तरिक राजस्व वृद्धि गर्दै शिक्षा क्षेत्रमा लगानी बढाउने, शिक्षा प्रणालीलाई सुदृढ बनाउने तथा नीति–संवाद र वकालतलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा शिक्षा बजेट वृद्धि, पारदर्शिता र उत्तरदायित्व सुनिश्चितता, समावेशी तथा लैङ्गिक समानतामूलक गुणस्तरीय सार्वजनिक शिक्षाको विकास, तथा नागरिक समाजको सशक्त भूमिकाका विषयमा जोड दिइएको थियो।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै NCE Nepal का जिल्ला संयोजक अधिवक्ता राजेश पासवानले शिक्षा क्षेत्रमा दीगो लगानी सुनिश्चित गर्न सरकारलाई जिम्मेवार बनाउनु प्रमुख लक्ष्य रहेको बताए।
स्वागत मन्तव्य NCE Nepal का सदस्य तथा बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम रायले राखेका थिए भने एसियाकै उत्कृष्ट प्राधानाध्यापकको रुपमा पुरस्कृत तथा परिचित वीरवंश बैठा र कमलेश कुमार चौरसियाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका पूर्वमन्त्री तथा वर्तमान सांसद कौशल किशोर राय उपस्थित थिए भने जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी कबिलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्ण, पूर्व प्रअ रजनीकान्त झा, कौडेना गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिकिन्दर मुखिया,सामाजिक विकास केन्द्रका विरेन्द्र गुप्ता तथा नागरिक समाजका शिवचन्द्र चौधरी लगायतले स्थानीय तहको राजस्व वृद्धि गर्दै शिक्षा क्षेत्रमा दिगो लगानी सुनिश्चित गर्न नीति सुधार र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको संचालन शिक्षक संतोष कर्णले गरेका थिए।
No comments:
Post a Comment