प्रेमिकाको हत्यामा जन्मकैद सुनाइएका युवक कारागारबाट फरार, न्याय कुर्दै परिवार
मधेशदूत समाचारदाता----
सर्लाही, वैशाख ६
महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका एक हत्या मुद्दाका दोषी हालसम्म पक्राउ पर्न सकेका छैनन्। अदालतबाट जन्मकैद सजाय सुनाइसक्दा समेत दोषी फरार रहनुले पीडित परिवारमा त्रास र अन्यायको अनुभूति बढेको छ।
महोत्तरी गाउँपालिका–४ रतवारा निवासी २२ वर्षीया अनु रायको हत्या प्रकरणमा दोषी ठहर भएका सर्लाही चक्रघट्टा गाउँपालिका–९ खोरियाका उमाशंकर रायको छोरा २५ वर्षीय मन्दीप कुमार यादव फरार रहेका हुन्। उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैद तथा ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ।
प्रेम सम्बन्धमा रहेको बताइने यादवले २०८१ असोज २२ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित जंगल क्षेत्रमा प्रेमिका अनुको हत्या गरेको आरोप छ। घटनापछि प्रहरीले उनलाई २०८१ मंसिर ३० गते पक्राउ गरी पुस २८ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
तर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेश्वर कारागारबाट अन्य कैदीबन्दीसँगै उनी फरार भएका थिए। त्यसयता प्रहरीद्वारा खोजी कार्य जारी रहे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन्।
फरार अवस्थामै जिल्ला अदालत महोत्तरीले २०८२ माघ २१ गते उनलाई जन्मकैद सजाय सुनाएको थियो, जसको प्रमाणीकरण चैत १५ गते भएको हो।
अनुका हजुरबुबा नाता पर्ने राजेन्द्र रायले नातिनीको हत्या भएको लामो समय बितिसक्दा पनि दोषी पक्राउ नपर्दा न्याय नपाएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “हत्यारालाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्छ, नत्र पीडित परिवारले कहिल्यै न्याय पाउँदैन।”
पीडित परिवारले दोषीलाई शीघ्र पक्राउ गरी कारागारमा राख्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले भने फरार अभियुक्तको खोजी कार्य जारी रहेको जनाएको छ।
No comments:
Post a Comment