प्रेस स्वतन्त्रतामाथि प्रहार: सर्लाहीमा तस्करी भइरहेको भिडियो सार्वजनिक गरेकै कारण पत्रकार धम्काइए
मधेशदूत समाचारदाता----
सर्लाही, चैत २७
जिल्लामा बढ्दो तस्करी सम्बन्धी भिडियो सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेकै आधारमा पत्रकार अमलेश शर्मामाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका अनुसार कार्यसमिति सदस्यसमेत रहेका पत्रकार शर्माले चैत २६ गते आफ्नै सामाजिक सञ्जालमार्फत तस्करीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेका थिए। सो भिडियो सार्वजनिक भएको भोलिपल्ट अर्थात् चैत २७ गते बिहान करिब ९ बजे केही अपरिचित व्यक्तिहरू शर्माको मलंगवा -४ स्थित कार्यालयमै पुगेर ज्यान मार्ने धम्की दिएका थिए।
उक्त घटनापछि आफू र आफ्नो कार्यालयमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको पत्रकार शर्माले महासंघलाई जानकारी गराएका छन्।
नेपाल पत्रकार महासंघ सर्लाहीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै एउटा भिडियो सार्वजनिक गरेकै आधारमा श्रमजीवी पत्रकारमाथि ज्यानै मार्ने धम्की आउनु अत्यन्त खेदजनक र निन्दनीय भएको उल्लेख गरेको छ। पत्रकारले प्रकाशन गरेको सामग्रीप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने प्रावधान हुँदाहुँदै यस्तो प्रकारको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको महासंघको ठहर छ। महासंघले यस घटनाले सर्लाहीमा पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउने कार्य भएको जनाएको छ।
यसैबीच महासंघले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै जिल्लामा क्रियाशील पत्रकारहरूलाई भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष रूपमा पत्रकारिता गर्न सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।
महासंघका सचिव सोम दियालीद्वारा जारी विज्ञप्तिमा यस्ता घटनामा रोक नलगाइए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कडा आन्दोलनमा उत्रिन बाध्य हुने समेत चेतावनी दिइएको छ।
No comments:
Post a Comment