हरिपुरमा नागरिक सुनुवाइ सेवा प्रवाहलाई पारदर्शी बनाउने प्रतिबद्धता
मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख १
नागरिक समक्ष सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी तथा जवाफदेही बनाउने उद्देश्यसहित सर्लाहीको हरिपुर नगरपालिका–२ स्थित नगरपालिकाको सभाहलमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा तथा इलाका प्रहरी कार्यालय हरिपुरको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर सर्लाहीका प्रमुख अमर बहादुर खत्री, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पंजियार, इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख शिव कटेल लगायत विभिन्न वडाका वडा अध्यक्षहरू, बुद्धिजीवी, समाजसेवी, भद्रभलाद्मी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नागरिकहरूले सुरक्षा व्यवस्था, सेवा प्रवाह, शान्ति–सुरक्षा तथा विभिन्न स्थानीय समस्यासम्बन्धी जिज्ञासा र गुनासाहरू प्रस्तुत गरेका थिए। उठेका प्रश्नहरूको सम्बन्धमा प्रहरी उपरीक्षक खड्काले जवाफ दिँदै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले पनि प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउँदै नागरिकका समस्या समाधानमा प्रशासन गम्भीर रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था तथा हालसम्म भएका प्रहरी गतिविधि र प्रगति विवरणसमेत प्रस्तुत गरेको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले नागरिक र सुरक्षा निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment