किशनपुरमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा शिक्षा शाखा प्रमुखमाथि दुर्व्यवहार
मधेशदूत समाचारदाता---
सर्लाही, चैत १८
सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरमा विद्यालय व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिँदा शिक्षा शाखा प्रमुखमाथि दुर्व्यवहार भएको छ।
किसनपुर माध्यमिक विद्यालयमा सोमबार व्यवस्थापन समिति गठनका लागि बोलाइएको भेलापछि विवाद चर्किएको हो। स्थानीयका अनुसार, बैठकमा आफु अनुकुल निर्णय नभए पछि वडाअध्यक्ष रामेश्वर प्रसाद महतोसहित उनका सहयोगीहरू राम साह हलुवाई, भरत गुप्ता, दरोगा पासवान र किशोरी रायले शिक्षा शाखा प्रमुख कमला बस्नेतमाथि हातपात गर्ने प्रयास गर्दै गालीगलौज गरेका र गाउँबाटै लखेटेका चन्द्रनगर-१ का स्थानीय युवा सुनिल महतोले बताए । उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ।
स्थानीयका अनुसार, व्यवस्थापन समिति गठन सर्वसम्मत रूपमा सम्पन्न भई रामपुकार महतो चयन भएका थिए। तर, उक्त निर्णयमा असहमति जनाउँदै वडा अध्यक्ष महतोले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। यसक्रममा उनले निर्णयसँग सम्बन्धित माइन्युट बुकसमेत खोसेर च्यातेको आरोप लगाइएको छ।
घटनापछि किसनपुरका स्थानीय युवाहरूले यसलाई व्यक्तिगत स्वार्थका कारण उत्पन्न विवादको रूपमा लिएका छन्। उनीहरूले जनप्रतिनिधिबाटै कर्मचारीमाथि दुर्व्यवहार हुनु सुशासनविपरीत भएको बताएका छन्।
यता, शिक्षा शाखा प्रमुखमाथि भएको व्यवहारप्रति स्थानीय तहमा कर्मचारी सुरक्षामाथि प्रश्न उठ्न थालेको छ। घटनाबारे सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयको छ।
No comments:
Post a Comment